Shittalpati
मुख्यमन्त्रीको सहज बाटोमा राना

रामचन्द्र रायमाझी
पाल्पा, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना उम्मेदवारी दिनुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को टिकट सार्वजनिक भयो ।

प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका रानाका लागि गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनुपर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा समाजवादीका नेता तगारो बन्न आउने संशय उनलाई थियो । नभन्दै रानाको क्षेत्रमा समाजवादीका सोमप्रसाद पाण्डेयको उम्मेदवारी निश्चित भयो । त्यसो त पाण्डेयलाई एकिकृत समाजवादीले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस गरिसकेको थियो । केन्द्रबाटै आएको गठबन्धनको निर्णयलाई सहजै स्वीकार गर्दै राना प्रतिनिधि सभाबाट ब्याक भएर प्रदेश सभामा उम्मेदवारी दिए । रानालाई प्रतिनिधि सभामा पठाउन पाल्पाली नेता तथा नागरिकहरुको ठूलै समर्थन थियो तर गठबन्धनको निर्णय रानाका लागि बाध्यात्मक बन्यो । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार पाण्डेलाई स्वीकार गरेर यही क्षेत्रको प्रदेशसभा १ बाट उम्मेदवार बनेर रानाले आफ्नो अभियान तीव्र पारे । पाल्पाली नेता कार्याकतालाई साथमा लिएर चुनावी अभियानमा होमिएका राना अन्ततः सफल भए । प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउदै प्रदेशसभा प्रवेशको गतिलो साइत उनका लागि जुर्यो । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणाम अनुसार रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याए । प्राप्त मत परिणाम अनुसार रानाले २ हजार ७५ मतान्तरमा विजयी भए । चुनावी परिणामले उनलाई प्रदेशसभा सदस्यका रुपमा मात्रै उभ्याइदिएन, लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको सम्भावनाको नजिक समेत पुर्‍याइदिएको छ ।

राना उम्मेदवार बन्नुअघि देखि नै प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चलेको हो । उनी प्रदेश सांसद होस् वा मन्त्री हुँदा नै प्रदेशको विकास र समृद्धिका लागि सक्रिय रुपमा लागेका कारण पनि उनलाई धेरैले अबको मुख्यमन्त्रीका रुपमा देख्न चाहेका छन् । यसकारण पनि उनको विजयीको सुरुवात मुख्यमन्त्री बन्ने संकेतका रुपमा धैरेले लिएका छन् । उनी आफू पनि अबको मुख्यमन्त्रीका लागि प्रमुख दावेदार हुन् । रानाले विगतदेखि नै पाल्पालाई समृद्धि र उज्यालो बनाउने अठोट लिदै आएका छन् । मन्त्री बनेको छोटो समयमै उनले पाल्पा र समग्र प्रदेशको विकासमा उल्लेखीय काम गरेका छन् । यसका कारण पनि उनी मुख्यमन्त्रीको दावी गर्दै आएका छन् ।

निर्वाचित भएपछि उनले एनजेडीसँग कुरा गर्दै भने, ‘चुनावी परिणामको उत्साह मात्रै हैन, प्रदेशको नेतृत्वकर्ताको जिम्मेवारी पनि आजैबाट बोकेको छु ।’ रानाले यो प्रदेशको समृद्धिको रेखांकनसमेत कोर्न थालिसकेको समेत बताए । ‘यो निर्वाचनको परिणाम हेर्दा नेपाली जनताले प्रदेशमा स्थिर सरकारमात्रै खोजेको होइन, अब प्रदेशलाई हाक्ने नयाँ नेतृत्व पनि खोजिरहेका छन् । त्यस्तो नयाँ नेतृत्व आजको दिनमा कसैले दिन सक्दछ भने त्यो नेपाली कांग्रेसले मात्रै दिनसक्छ,’ रानाले भने । उनले सुरुवातदेखि नै आफूलाई मुख्यमन्त्रीका रुपमा दावी गरेका कारण पनि पाएको मतको एउटा आधार त्यसलाई पनि मान्न सकिन्छ । मतको सम्मान गर्न पनि रानाका सामु अर्को चुनौती आइपरेको छ ।

रानाको प्रदेश सांसद यात्रा
२०२२ साल जेठ १५ गते पाल्पाको बगनासकाली गाउँपालिका खानीगाउँमा बुवा टिकाराम राना र आमा गोमती रानाको गर्भबाट जन्मेका रानाको यो दोस्रो सांसद यात्रा हो । उनी यसअघि समानुपातिक र अहिले प्रत्यक्षबाट निर्वाचित सांसद बनेका छन् । २०७४ को प्रदेश सभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएपछि उनी पहिलो पटक लुम्बिनी प्रदेशमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री भएका हुन् । पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कूलप्रसाद केसी नेतृत्वको गठबन्धन सरकारबाट मन्त्री बनेका हुन् ।

२०४५ देखि राजनीतिक यात्रा सुरु गरेका राना तरुणदलदेखि नेपाली काँग्रेसको क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सह–सचिव हुँदै जिल्ला सभापति भएका थिए । राना नेपाली काँग्रेसको १२ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति र १३ औं महाधिवेशनमा सर्वसहमत रुपमा पुनः पार्टी सभापति भएका थिए । २०७० सालको आमनिर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बनेका राना तत्कालिन एमालेका सोमप्रसाद पाण्डेयसँग झिनो मतको अन्तरले पराजित भएका थिए । २०७४ को निर्वाचनमा भने उनी लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट उम्मेदवारी दिई सांसद बनेका हुन् । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना अहिले भारी मतले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । रानाले विजयी भएसँगै सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update