Shittalpati
देशभरका शिवालयमा छरियो शतबीज

पाल्पा, देशभरका शिवालयमा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मंगलबार दिवंगत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरिएको हो । त्रयोदशीको रातभर भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवंगत पितृको नाममा महादीपदान गरेका थिए । विशेष गरी काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागेको थियो ।

कतिले घरमै पाञ्चायन पूजा गरिएको स्थानमा रातभर बत्ती बाली बिहान पशुपति क्षेत्र वा अन्य शिवालयमा गई शत बीज छरेका छन् । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलि, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुÞयेश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । भगवान् शिव मृगरूप लिएर घुमेको पुण्य क्षेत्रमा यस दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथा अनुसार पहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बुढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मीतको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिइ शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनि दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update