Shittalpati
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी

कृष्ण पोखरेल
पाल्पा, आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू पुगेका हुन् । नजिक मतदान स्थल भएका कर्मचारी भने शुक्रबार मात्रै हिँडे । यहाँ दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा निर्वाचन हुँदैछ । जहाँ १ सय १८ मतदान स्थलका २ सय ४६ केन्द्र रहेका छन् । यहाँका दुईवटै निर्वाचन क्षेत्रमा कर्मचारीहरू मतदान स्थलमा खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि निर्वाचन अधिकृतको कार्यालयमा बिहानैदेखि कर्मचारीको भीड लागेको देखिन्थ्यो । उनीहरू निर्वाचन सामग्री बुझेर रुजु गर्ने तथा मतदान स्थलसम्म पुग्ने व्यवस्थापनमा जुटेका थिए । ‘निर्वाचन सामग्री बुझ्यौं, अब मतदानस्थल तर्फ हिँड्यौं,’ तिनाउ गाउँपालिका–५ पृथ्वी प्रकाश मावि कोल्डाडामा खटिएका मतदान अधिकृत डिल्लीराज गैरेले भने, ‘बिहीबारदेखि मतदानस्थल व्यवस्थापनमा जुटेका छौं ।’ उनी बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको टँुडिखेलमा सामग्री रुजुसँगै ढुवानीका लागि साधनको खोजीमा लागेका थिए । अधिकांश कर्मचारीहरू शुक्रबार मतदानस्थलमा पुग्ने तयारीसहित हिँडेका छन् । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरु मतपत्र बोकी मतदान स्थलमा खटिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट मतदानको लागि चाहिने मतपत्र सहित ५८ प्रकारको आवश्यक सामग्री बुझी कर्मचारी, सुरक्षाकर्मीहरु आ–आफ्नो मतदान केन्द्रमा खटिए । मतदान केन्द्रमा खटिएका कर्मचारीहरु उत्साहका साथ मतदानका सरसमान बुझेर सुरक्षाकर्मीको साथमा मतदान स्थलमा लागेका हुन् । पाल्पाका अति दुर्गम क्षेत्रका मतदान अधिकृतहरु बुधबार नै मतदान स्थलमा पुगिसकेका छन् । मतदान स्थलमा पुगी सकेपछि मतदान केन्द्रको बैठक गर्ने, मतदान स्थलका अन्य केन्द्रहरुसँग पनि सामुहिक बैठक बस्ने, मतदान स्थलमा विभिन्न प्रकारका सूचनाहरु टाँस गर्ने, सर्वदलिय बैठकका लागि स्थानीय स्तरमा रहेका राजनीतिक दलहरुलाई पत्राचार गर्ने काम गरेको रैनादेवी छहरा गाउँपालिका–७ गहते मावि मतदान स्थलमा खटिएका मतदान अधिकृत भरत आचार्यले बताए ।

जिल्ला निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गतेका लागि मतदाताको संख्याको आधारमा सबै किसिमका सरसमान मतदान केन्द्र अनुसार मिलाएर तयारी अवस्थामा राखेको थियो । मतदान अधिकृतहरुले मतदान स्थलमा ४ प्रकारको सूचना टाँस गर्नुपर्ने, पहिलो बैठक बस्नुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताए । यहाँ निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित सहायक कर्मचारी गरी १ हजार ९ सय ७३ जना कर्मचारी, १ हजार २ सय १५ जना म्यादी प्रहरी, १ हजारको संख्यामा नेपाल प्रहरी, २ सय ५० को संख्यामा शसस्त्र प्रहरी र ४ सय ५० को संख्यामा नेपाली सेना परिचालित छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update