Shittalpati
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान

कृष्ण पोखरेल
पाल्पा, आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पाल्पामा नमुना मतदानको अभ्यास गराइएको छ । आम सर्वसाधारणका निम्ति जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास गराएको हो । जसले मंसिर ४ मा हुने निर्वाचनको झल्को दिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि जिल्लाका विभिन्न ठाउँहरुमा निर्वाचनको तयारी स्वरुप नमुना मतदान गरिएको हो । नमुना मतदान भए पनि साँच्चै मतदानको झल्को दिइने गरी मतदान भएको थियो । धेरै मतदाताले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयले निर्वाचनमा ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदाताहरु अलमलमा नपरुन् भनि जिल्लाका १० वटै पालिकामा नमुना मतदान अभियान चलाएको हो । नमुना मतदानमा, मतपत्र बाहेका अरु सबै प्रकिया मतदानका दिन गरिने सबै क्रियाकलापमा आधारित भएर गरिएका छन् । नमुना मतदान सर्वसाधारणले कसरी मतदान गर्छन् ? कति समय लगाउछु, मतदान गर्दा सही तरीका अपनाउछन् कि, गलत तरीकाले गर्छ ? लाईनहरु कसरी मिलाउनु पर्दछ, एकै स्थलमा धेरै मतदान केन्द्रको व्यवस्थापन, मतदानमा गोपनियता कायम गर्नेदेखी पारदर्शीको व्यवस्था मिलाउने सम्मका कुराहरुलाई ध्यानमा राखी नमुना मतदान गराईएको रामपुर नगरपालिकामा मतदान अधिकृतको रुपमा खटिएका बगनासकालीका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तिले बताए । नमुना मतदान गर्न सिकाउँदा सिकाउँदै पनि निरक्षर व्यक्तिहरुलाई कुन मतपत्र कुन को हो भन्ने जानकारी पाउन सकेका छैनन् , जसको कारण एउटा भनेको मत अर्काेमा हाल्ने, हाल्नै पर्ने स्थानको मतमा अल्मलिने अवस्था प्रशस्त देखिएको छ । मतदाताले मतपत्र खसाल्ने समयमा एउटाको मतपत्र अर्काेमा खसाल्ने अवस्था आउन सक्ने देखिएको छ । जसको कारण हार्नेले जित्ने, जित्नेले हार्ने अवस्था आयो भने मतदाताले सही निर्णय गरे पनि गलत प्रक्रियाका कारण निर्वाचन प्रणालीको विश्वसनियतामा कमि देखिने छ । नमुना मतदानमा भाग लिएका बगनासकाली पाल्पाका जेष्ठ नागरिक कुल प्रसाद ढुङ्गानाले भने नमुना मतदानबाट फाईदा लिएका छन् ।

४ वटा मतपत्रमा मतदान गर्दा सर्वसधारणले १० देखी १५ मिनेटसम्म समय लगाउने देखिएको छ । यो जानकारी घरपरिवार छरछिमेकमा सिकाउने जेष्ठ नागरिक ढुङ्गानाले बताए  । जेष्ठ नागरिक मात्र होईन नमुना मतदानमा कर्मचारी, विद्यार्थी, पालिका प्रमुखहरुलाई सहभागी गराईएको छ । विद्यार्थी घर–घरमा पुगेर आफ्ना परिवारमा सिकाई आदान प्रदान गरुन, शिक्षक, महिला स्वयसेविकाको माध्यमबाट गाउँ गाउँमा सर्वसाधारणसम्म मतदान गर्ने तरीका पुगोस् भनि निर्वाचन आयोगले नमुना मतदान अभियान सञ्चालन गर्दै आएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले जिल्लाका १० पालिका मध्ये ८ वटा पालिकामा नमुना मतदान गरिसकेको छ । अन्य दुई पालिकामा भने एक दुई दिनमा नमुना मतदान गरिने जिल्ला निर्वाचन कार्यालय पाल्पाकी सूचना अधिकारी कल्पना पौडैलले बताईन । जिल्ला निर्वाचन कार्यालय पाल्पाले नमुना मतदानको क्रममा प्रतिनिधी सभा प्रत्यक्ष र समानुपातिक, प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा नमुना मतदान गराएको हो । नमुना मतदानमा जेष्ठ नागरिक, युवा, पाका पुस्ता, विद्यार्थी तथा पहिलो पटक मतदान गर्ने व्यक्तिहरुलाई सहभागी गराईएको छ । पहिलो पटक भोट हाल्ने व्यक्ति नमुना मतदानमा पनि सहभागी हुन पाउदा धैरे कुरा जान्ने र सिक्ने मौका मिलेको बगनासकालीकी शर्मिला विकले बताईन् । २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा चलाएको थिएन  । तर यस पटक नुमना मतदान संगै प्रत्येक वडा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हँुदै आएको छ । सार्वजनिक स्थलमा मतदाता, महिला स्वयसेवी, सर्वसाधारण व्यक्तिलाई भेला गरेर ४ प्रकारका मतदपत्रमा छाप लगाउने तरिका सिकाइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update