Shittalpati
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सबै क्षेत्र र वर्गका नागरिकहरुलाई निर्वाचन आचर संहिताका विषयमा जानकारी, छलफल र बहस गराउँदै आएको केन्द्रले मंगलबार सचेतना र्याली निकालेको छ । उसले निर्वाचनका बेला हुन सक्ने गतल सूचना, दल र उम्मेदवारले पार्न सक्ने प्रलोभन, डर, धम्की, सामाजिक सञ्जालनमा हुन सक्ने झुटा साईट र एकाउण्ट जस्ता विषयमा आम मतदातालाई र्याली मार्फत सचेत गराएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय होस् भन्ने उद्देश्यले सचेतना र्याली निकालिएको पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेले बताए । उनले भने,‘निर्वाचनका बेला हुन सक्ने गतिविधिहरुबाट आम मतदाताहरु सचेत हुन जरुरी छ , त्यो भयो भने मात्र निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन बल पुग्छ । हामी यही कुरामा सचेत छौं ।’

स्थानीय तहको निर्वाचनमा समेत हरेक क्षेत्र र वर्गका नागरिकलाई निर्वाचनका विषयमा सचेत गराइएको र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि आम मतदाताहरुलाई सचेतनाका विभिन्न कार्यक्रमहरु गरिदै आएको केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले बताए । उनले भने,‘हामीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन सम्बन्धी वहस,छलफल, अन्तक्र्रिया र र्यालीमार्फत सचेतना दिदैं आएका छौं ।’
नेपाल रेडक्रस सोसाइटीको भवनबाट सुरु भएको सचेतना र्याली टुँडिखेल, बसपार्क, लहरेपिपल, पेट्रोलपम्प, तेस्रो सडक, शितलपाटी हुँदै पुनः रेडक्रस भवनमा पुगेर समापन भएको थियो । र्यालीमा जिल्लाका विभिन्न संस्थामा आवद्ध युवाहरुको सहभागिता रहेको थियो । र्यालीमा युवाहरुले निर्वाचन आंचरसंहिताको पूर्णपालना गरौं, आंचरसंहिता पालना गराउन सबैले खबरदारी गरौं, कसैको डर, धम्की, र लोभलालचमा भोट नगरौं, स्वच्छ, सक्षम उम्मेदवारलाई मेरो भोट, कसैको आर्थिक वा अन्य प्रलोभनमा परी मताधिकारको दुरुपयोग नगरौं, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन नगरौं, सामाजिक सञ्जालमा निर्वाचन सम्बन्धी सामग्री प्रयोग गर्दा होसियार बनौं, सूचनाको विश्वसनियता जाँच गरेर मात्रै लाईक, शेयर र कमेन्ट गरौं लगायतका पम्लेट बोकेर तानसेन नगर परिक्रम गरेका थिए ।

नेपाल नागरिक समाज, अनौपचारिक सेवा केन्द्र(इन्सेक), राष्ट्रिय निर्वाचन प्रवेक्षण समिति (नियोग), पाल्पा सिविआर, सि एण्ड सी इन्टरनेश्नल, कन्सल्टेन्सी प्रालि., शिव इष्ट्रिच्युट अफ मल्टि टेक्निकल एजुकेशन प्रालि र शान्ति न्याय लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल लगायतका संघ संस्थाहरुको सहकार्यमा सचेतना र्याली निकालिएको थियो । पाल्पा विकास केन्द्रले यस अघि नै राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघ संस्थाका व्यक्ति र पत्रकारहरुलाई छुट्टाछट्टै राखी निर्वाचन आचर संहिताका विषयमा जानकारी र सुसूचित गराइसकेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update