कृष्ण पोखरेल
पाल्पा,मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पाल्पामा खटिने कर्मचारीलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा निकायका कमाण्डरहरुलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा कमाण्डरलाई एकै ठाउँ राखेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन गरेका हुन् । उनले विगतमा निर्वाचनमा खटिने कर्मचारीहरुबाट भएका केही गल्तीहरुप्रति संकेत गर्दै त्यस्ता गल्ती गर्ने कर्मचारीको जागिर नै जाने बताए । ‘जाडोको मौसम छ, टन्न कपडा लिएर जानुस्, तर जाडो भयो भनेर मदिरा पिउने, गाउँमा मिलेर खसी काट्ने गरेमा दुःखसँग पाएको सरकारी जागिर चट हुने छ’ प्रजिअ पन्तले भने ।
विगतका निर्वाचनमा पाल्पाका केही मतदानस्थलमा मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मिलेर मतदानस्थल वरपर खसी किनेर काट्कुुटु गरी रक्सीसँग खाने चलन रहेकाले यसपालि पनि त्यस्तो कार्यमा सलग्न भए तत्काल जागिरबाट विदावारी गर्न सिफारिस गरिने उनले बताए । पाल्पामा ६५ प्रतिशत भन्दा बढी जनजातीहरुको बस्ती रहेकाले अधिकाश मतदान स्थलका गाउँ–गाउँमा घरेलु रक्सीको नियमित कारोवार हुँदै आएको छ । रक्सी पिउने बानी बसेकाहरुलाई मतदान स्थलमा पनि नछुट्ने हो कि ? मतदान प्रक्रियामा कतै असर नपरोस् भनेर प्रजिअ पन्तले जागिरबाट विदा गर्ने बताएका हुन् । ‘निर्वाचनमा भएको आम्दानीले मतदानको अर्काे दिन श्रीमती छोरा छोरीसँगसँगै बसेर मासु खाने, बानी लागेका व्यक्तिले सुत्ने बेलमा लिमिटमा खाएर आनन्द लिनुहोला’ प्रजिअ पन्तले मतदान अधिकृत र सुरक्षाकर्मीलाई भने । मतदानमा खटिने अधिकाशं कर्मचारीहरु विभिन्न राजनीतिक दलका ट्रेड युनियनमा आवद्ध रहेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले भने ‘तपाईहरु कहाँ कहाँ पर्नुभयो, कुन केन्द्रमा जाँदै हुनुहुन्छ भनेर गाउँ–गाउँमा सूचना पुगी सक्यो, राजनीतिक दल तथा उम्मेदवारले यो त मेरो मान्छे हो भनेर तपाईलाई प्रयोग गर्न खोज्ने छन् त्यति बेला सजग हुनुु होला, यदि कोही कसैले आस्थाको राजनीति देखिने गरी काम गरेको कही कतैबाट सूचना आयो भने तत्काल त्यहाँबाट हटाई विभागीय कारवाहीको लागि सिफारिस गरिने छ ।’ जिल्ला निर्वाचन कार्यालय पाल्पाले दुई दिनसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान अघि, मतदानको दिन र मतदान पूूर्व गर्नुपर्ने सबै किसिमका कामको बारेमा जानकारी गराइसकेको छ ।
विगतका निर्वाचनमा मतदान अधिकृत र सुरक्षा कमाण्डरहरुबिच समन्वय नहुँदा केही स्थानमा निर्वाचनको काममा समस्या भएकाले यस पटक एकै स्थानमा तालिम दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । मतदानमा खटिने कर्मचारीदेखी सुरक्षाकर्मीहरु ढुक्क हुनुहोस्, कुनै पनि अपराधिक घटनाहरु नघटोस् भनि जुनसुकै मतदान स्थलमा ढिलोमा ३० मिनेट भित्र पुग्ने गरी बेस क्याम्प खडा गरेर गस्ती पेट्रोलिङको काम गर्दै आएको नेपाली सेना दि फेमश महिन्द्र दल गणका गणपती बालमुकुन्द पाठकले बताए । हामी जिल्लाको सबै पालिकामा मूूख्य वेस क्याम्प, संवेदनशिल मतदानस्थलमा नजिकको क्षेत्रमा सव बेस क्याम्प खडा गरेर शसस्त्र, र नेपाल प्रहरीसँग समन्वय गरी काम गर्दै आएको गणपती विष्टले बताए । उनले भने,‘स्वच्छ, निष्पक्ष विश्वसनिय र भयरहित निर्वाचनका लागि एक आपसमा समन्वय जरुरी छ ।’ पाल्पामा पहिलो पटक एकै स्थानमा राखेर मतदानमा खटिने मतदान अधिकृत र मतदान स्थलको सुरक्षामा खटिने प्रहरी कमाण्डरलाई जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सेना प्रमुख, प्रहरी प्रमुखले आवश्यक तयारी, समन्वय अनुशासन, काम कर्तव्य र जिम्मेवारीको बारेमा जानकारी दिएका हुन् । मतदानको कार्यको लागि जिम्मेवारी पाएको सबै पक्षले स–सानो कुरामा ध्यान दिएर, आएका विवाद कानुन अनुरुप तत्काल समाधान गरी सबैपक्षलाई मान्य हुने गरी काम गर्न मतदान अधिकृतहरुलाई निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले आग्रह गरे । निर्वाचनको सम्पूूर्ण सुरक्षा तयारी पुरा भएको छ ।
नेपाली सेनादेखी नेपाल प्रहरीसम्म मतदान स्थल वरी –परी परिचालन भईरहेको जिल्ला निर्वाचन सुरक्षा समितीले जनाएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरुलाई आवश्यक तालिम दिएका छांै, मतदानको लागि चाहिने सबै प्रकारका सामग्री मतदान केन्द्रमा तयारी अवस्थामा राखिएको निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्मागत अर्यालले बताए । २ दिनसम्म प्रशिक्षण पाएका पाल्पाका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरु मंसिर १ गते सम्म मतपत्र सहित आवश्यक सरसमान बुझेर सम्बन्धित मतदानस्थमा पुगी सक्नुपर्ने छ । २०७९ मंसिर ४ गतेको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित सहायक कर्मचारी गरी १ हजार ९ सय ७३ जना कर्मचारी खटिने छन् । पाल्पामा १ हजार २ सय १५ जना म्यादी प्रहरी, १ हजार नेपाल प्रहरी, २ सय ५० शसस्त्र प्रहरी र ४ सय ५० नेपाली सेना निर्वाचन सुरक्षामा परिचालन भएका छन् । यहाँ १ सय १८ मतदान स्थलको २ सय ४६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेका छन् ।