Shittalpati
भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा

पाल्पा, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाले पाँचौ साधारण सभा मनाएको छ । संघले तानसेनको श्रीनगरमा एक औपचारिक कार्यक्रमका बिच सभा मनाएको हो । साधारण सभा नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै गणपति विष्टले नेपाली सेनाले भूपूहरुको वृद्धि विकास र समस्यामा सधै हातेमालो गर्न तयार बताएका छन् । स्वास्थ्य, शिक्षा, सामाजिक विकास, दुर्घटना, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नेपाली सेनाले उल्लेखीय काम गरिरहेकाले अवकास प्राप्त पछि पनि सेनाले यि सेवाहरुको उपयोग गर्न सबै पाल्पाली भूपूहरुलाई उनले आग्रह गरे । नेपाली सेना र रिटायर्ड भूपूहरु सबै एउटै सैनिक संगठनको परिवार भएकाले सबैले एक अर्कोको समस्यामा सहयोग गर्नुपर्नेमा समेत जोड दिए । उनले अवकास पछिको जीवनलाई समाज परिवर्तनमा समर्पित गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा संघ जिल्ला सभापति देवबहादुर भाट क्षेत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भुुपुु सैनिकहरुलाई सीपमूलक तालिम दिदै आइएको बताए । उनले लुम्बिनी प्रदेश इपि सेन्टरको समन्वयमा कृषि, पशुपालन र अदुवा खेतीका लागि १ सय २० जनालाई सीप मूलक तालिम दिइएको बताए । यस्तै संघमा आवद्ध भूपू सैनिकहरुको निधनमा राहत स्वरुप ३१ जनालाई २५ हजारको दरले ७ लाख बढी रकम सहयोग गरेको, भूपू सैनिकहरुको पेन्सन तथा सहुलियत ऋण प्रदानमा समेत संघले सहयोग गर्दै आइरहेको सभापति भाटले बताए ।

संघले २ सय ६१ जना नेपाली सेना तथा भूपूहरुलाई सहुलियत दरमा लघुकर्जा वितरण गरेको, जटिल रोगीहरुलाई ५ हजार आर्थिक सहयोग, विपन्नहरुलाई छात्रवृत्ति, भूपूका छोरा छोरीहरुलाई छात्रवृत्तिमा विभिन्न विद्यालयमा अध्ययनको सुविधा समेत मिलाइएको उनले बताए । कार्यक्रममा संघका कोषाध्यक्ष मोहन बहादुर थापाले ४६ लाख ४४ हजार २ सय ८२ रुपैंया बरावरको आर्थिक तथा लेखा प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा ७५ वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, घाइते अपाङ्ग भूपू सैनिक तथा तिनका एकल परिवारहरुलाई नगद, दोसल्ला, प्रमाण पत्र र खादा ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट इन्द्रबहादुर रावल, सहभागी तर्फबाट रामबहादुर बस्नेत, महेन्द्र पोखरेल, तारा बहादुर खत्री लगायतले दिएका थिए । संघ सभापति देव बहादुर भाटको अध्यक्षता, सेनानी विष्णु बहादुर थापाको स्वागत, तारा बहादुर रानाभाटको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update