
कृष्ण पोखरेल
पाल्पा, कोरोना भाईरसको सक्रमणबाट बच्न र बचाउन तानसेन नगरपालिकाले भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण शुरु गरेको छ । विदेशबाट आएको व्यक्तिहरुको घर घरमा पुगी स्वास्थ्य चौकीका स्वास्थकर्मीहरुले स्वास्थ्य परीक्षण गर्दै आएका छन् । विशेष गरी तानसेन नगरपालिकाले विदेशबाट आएका तर दुई हप्ता अवधि नपुगेका सबै व्यक्तिहरुलाई नियमित रुपमा चेकजाँच गर्दै आएको छ । नगरपालिकाका १४ वटै वडामा स्वास्थ्यकर्मीहरुबाट चेकजाँच हुदै आएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए ।
नगरपालिकाले आफ्नै खर्चमा १० वटा पिपिए तथा आवश्यक स्वास्थ्य उपकरण स्वास्थ्यकर्मीहरुलाई वितरण गरेपछि वडा वडामा विदेशबाट आएका व्यक्तिहरुको चेकजाँच शुरु गरिएको हो । विदेशबाट आएका व्यक्तिहरुको घर घरमा पुगी स्वास्थ्यकर्मीले ज्वरो, रुघा र तथा खोकीको परिक्षण गर्दै आएका छन् । अहिले सम्म स्वास्थ्य परीक्षण गरेका व्यक्तिहरुमा ज्वरो, रुघा तथा खोकी नदेखिएको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गा बहादुर थापाले बताए । तानसेन नगरपालिका भित्र १२३ जना बाहिरी मुलुकबाट आएकोमा ८७ जना भारत ३६ जना अन्य मुलुकबाट आएका छन् । विदेशबाट आएका व्यक्तिहरुको घरमा छुट्टै कोठामा बस्न लगाएको, नगरपालिकाले समय समयमा शंकास्पद व्यक्तिहरुको छडके पनि गर्दै आएको सूचना अधिकारी थापाले बताए ।
यसैगरी तानसेन नगरपालिकाले तानसेनका सार्वजनिक स्थान बसपार्क, नारायणस्थान, शित्तलपाटी, हुलाक चोक, विशाल बजार, सिल्खानचोक, बरतुङ, प्रभास, काजीपौवा मिशन , गैरागाउँ मेहलधारा लगायतका स्थानमा किटनासक औषधी छर्केको छ । यसैगरी रामपुर नगरपालिकाले पनि नगरका बेझाँड बजार, किसानबारी लगायतका स्थानमा किटनासक औषधी छर्केको जनाएको छ । यसैगरी नीस्दी गाउँपालिकाले पनि विदेशबाट आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दै आएका छ । चेकजाँच भएका व्यक्तिहरुमा कुनै किसिमका रुघाखोकी नदेखिएको गाउँपालिकाले जनाएको छ ।