Shittalpati
दशैँको नवमीदेखि पूर्णिमासम्म नै बाढी पहिरोको जोखिम : सतर्क रहन मौसमविद्को आग्रह

काठमाण्डौ,दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।

यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उनको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।

नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने दशैँको टीकाको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मोसमविद् वरुण पौडेलले बताए ।

यस्तै, एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । गएको जेठ २८ गते भित्रिएको मनसुन ढिलो गरी बाहिरिने भएको छ । मनसुनको अवधि आज अर्थात अक्टोबर २ तारिखसम्म मात्रै रहे पनि अन्तिममा फेरि सक्रिय हुँदै छ । यो हप्ताभरी नै मनसुन रहने अनुमान छ ।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update