Shittalpati
सफलताका कथा संगालो ‘कर्म’ विमोचन

कृष्ण पोखरेल
पाल्पा, कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सफलताका कथा संगालो ‘कर्म’ को विमोचन गरिएको छ । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा सिंजाली, पूूर्व नगर प्रमुख अशोक कुमार शाही, पूूर्व उप प्रमुख लक्ष्मीदेवी पाठक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, हेफर इन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डे, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले संयुक्त रुपमा कर्मको विमोचन गरेका हुुन् ।

परियोजनाको सफलताको कथा संगालो कर्ममा सञ्चारकर्मीको आखाँको नजरमा देखिएका कृषि, पशुको क्षेत्रमा युवा तथा महिलाहरुले गरेका सफल कामहरुको चर्चा गरिएको छ । सफलताको कथा संगालोमा विभिन्न कृषकहरुका २२ वटा कथाहरु समेटिएका छन् । २०७६ पुश देखी तानसेन नगरपालिकाको लगानी हेफर इन्टरनेशल र ग्रामीण आर्थिक विकास संघ रेडाको सहजीकरणमा तानसेनमा युवा स्वरोजगार अन्तर्गत यो कार्यक्रम लागु भएको हो । परियोजनाबाट हाल सम्म २ हजार १ सय ४१ घरपरिवारमा लाभान्वित भएका छन् । कोभिडको समयमा विदेशबाट फर्किएका ४ सय ७२ जना युवाले कृषि तथा पशु उद्यमशिलतामा उद्यमी बनेका छन् ।

पाल्पाका ८ वटा पालिकामा तानसेन मोडल कार्यक्रम लागु भएको छ । यो परियोना मार्फत कृषकहरुले विना धितो सहुलियत दरमा ५ लाख रुपैयाँसम्म कृषि कर्जा पाउँदै आएका छन् । हालसम्म परियोजनामार्फत करीव ९९ जना युवा उद्यमी तथा कृषकहरुले विना धितो सहुलियत ऋण पाएका छन् । परियोजना मार्फत कृषकबाटै सिधै उपभोक्ताको भान्छामा पुग्ने गरी तानसेनका दुध डेरी सञ्चालन गरेको, तानसेन होलाङ्दी क्षेत्रमा थोक बजार, प्रभास बगैचामा हाट बजार, तानसेनमा खसी तथा बंगुरको मासु पसल सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको परियोजना सहजीकरण संस्था रेडाले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले तानसेनको विकास कृषि, पशु र पर्यटनबाट मात्र गर्न सकिने बताए । तानसेन नगरपालिकामार्फत कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका लागि ५ करोड ४४ लाख रुपैयाँ लगानी भएको नगर प्रमुख श्रेष्ठले बताए ।

नगर उप प्रमुख प्रतिक्षा सिंजालीले कृषकहरुको जीवनस्तर उकास्न, बढी भन्दा बढी युवाहरुलाई कृषि पेशामा सहभागिता गराउन परियोजनाले महत्वपूूर्ण भूमिका खेलेको बताईन् । पुर्व नगर प्रमुख अशोक कुमार शाहीले कृषि र पशुको माध्यमा राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउने योजनाका साथ परियोजना सञ्चालन भएको बताए । पुर्व नगर उप प्रमुख लक्ष्मीदेवी पाठकले परियोजनालाई सफल बनाउन, विगतमा सिङ्गो नगरपालिका टिम सक्रिय भएर लागेको बताइन् । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले समग्रमा परियोजनाले राम्रो प्रभाव पारेको भएपनि देखिएका कमिकमजोरीलाई सच्चाउदै काम गर्नुपर्ने बताए । कार्यक्रममा हेफरका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले तानसेन नगरपालिकाको कार्यक्रममा हेफर र रेडाले सहजीकरण गरेर तानसेन मोडल नेपालभरी चर्चामा रहेको बताए । रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीको अध्यक्षता, परियोजनाका तानसेन संयोजक निर्प परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update