Shittalpati
शिक्षक संघ माथागढीले भन्यो ‘शिक्षक कुुट्ने लाई कारवाही गरियोस्’

पाल्पा, नेपाल शिक्षक संघ माथागढीले शिक्षक माथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेको छ । माथागढी–५ स्थित सिर्जना प्राविका प्रधानाध्यापक हरीप्रसाद न्यौपानेलाई कुटपिट गर्नेहरुलाई तत्काल कडा भन्दा कडा कानुनी कारवाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको हो ।
संघले एक विज्ञप्ती जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी तत्काल कानुनी कारवाही गर्न आग्रह गरेको छ । संघले भनेको छ –‘ घरमै सुतिरहेका शिक्षक माथि अकास्मात हात पात गरी मरणासन्न हुने गरी कुटपिट गरेको खबरले माथागढीका सम्पूर्ण शिक्षक, कर्मचारीहरु अत्यन्त त्रसित र दुखी भएका छौं, उक्त घटनाप्रति शिक्षक संघ घोर निन्दा र भत्र्सना गर्दछ ।’ शिक्षक संघ माथागढीका अध्यक्ष डिल्लीराज रेग्मी, उपाध्यक्ष निर बहादुर सारु र सचिव राजन अधिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी घटनामा संलग्नहरुलाई कारवाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन माथागढी गाउँ सरकार समक्ष माग गरेका छन् ।
शिक्षक न्यौपाने माथि कुटपिट गरेको आरोपका प्रहरीले स्थानीय चार जना युवालाई पक्राउ गरिसको छ । पक्राउ पर्नेमा माथागढी गाउँपालिका–५, का २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षकै पारस रेग्मी रहेका छन् । प्रधानाध्यापक न्यौपानेलाई ती चार जना युवाले ज्यान मार्ने हेतुले कुटपिट गरेको र गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवा विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते शिक्षकको अहिले मदन भण्डारी टिचिङ हस्पिटल काठामाडौंमा उपचार भइरहेको शिक्षक संघ माथागढीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update