Shittalpati
लुम्बिनीमा ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने

पाल्पा, आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्ने पाउने भएका छन् । यहाँका १२ जिल्लाका ३२ लाख ४९ हजार ६ सय ३७ मतदाताले मतदान गर्न पाउने भएका हुन् । यस प्रदेशमा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १ सय ३२, महिला १६ लाख १२ हजार ४ सय ७१ र अन्य ३४ जना रहेका छन् । प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन् । जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची संघतर्फ एक/एक वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् ।

त्यस्तै प्रदेशभर कुल मतदानस्थल एक १ शजार ६ सय ४९ र मतदान केन्द्र ३ हजार ८ सय ६१ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यस प्रदेशको पाल्पा जिल्लामा दुुई निर्वाचन क्षेत्र रहेका छन् । जहाँ क्षेत्र नं १ (क)मा ४९ हजार २ सय ५१ र क्षेत्र नं १ (ख) मा ४६ हजार ७ सय ८२ मतदाता रहेका छन् । यस्तै क्षेत्र नं २ (क) ५६ हजार १ सय २० र क्षेत्र नं.२ (ख) मा ४९ हजार १ सय ७३ मतदाता रहेका छन् । दुुई निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नं १ (क) मा ५७ हजार ५ सय ७९ र क्षेत्र नं.१ (ख) मा ६१ हजार ७ सय ९ मतदाता रहेका छन् । यस्तै क्षेत्र नं. २ (क)मा ५१ हजार ९ सय ४ र क्षेत्र नं. २ (ख) ५२ हजार ४ सय २३ मतदाता रहेका छन् । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले मतदान गर्न पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update