Shittalpati
रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं

रामपुर (पाल्पा), अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गा दर्ताको काम सुरु गरिएको छ । बिहीबारदेखि यहाँ जग्गा दर्ताको काम सुरु भएको हो । रामपुर नगरपालिका वडा ५, ६ र ७ का सात सय ८३ घरघडेरीको विवरण तयार भएको छ । हाललाई सो घरघडेरीको जग्गाधनी पुर्जा वितरणका लागि दर्ता अगाडि बढाइएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

‘निर्वाचन आयोगले अहिले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ’, उनले भने, ‘निर्वाचन अगावै जग्गाधनी पुर्जा वितरण गर्न मिल्ने भएमा आजै वितरण गर्नेछौँ, नमिलेमा आन्तरिक गृहकार्य गरेर सबै विवरण तयार पारेर राख्ने र निर्वाचनपश्चात् वितरण गर्नेछौँ ।’ उनका अनुसार जग्गा दर्ताका लागि पुरानो गठन आदेशमा उल्लेख भएअनुसार मालपोत कार्यालयमा रजिष्टेशन प्रयोजनका लागि गरिने मूल्याड्ढनलाई आधार मानेर शुल्क तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकमा रकम जम्मा गरेको भौचरको आधारमा श्रीमान् श्रीमती स्वयं उपस्थित भएर जग्गा दर्ता गर्ने कार्य भएको छ । निर्वाचन आयोगले भने लालपुर्जा वितरणको काम तत्काल रोक्न उक्त आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले उक्त आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायत सम्पूर्ण कार्य तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिइएको छ । –रासस

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update