Shittalpati
पाल्पाका दुई नगरपालिकामा कोरोना संक्रमण रोक्न ‘डिसइन्फेक्सन स्प्रे’

पाल्पा(रामपुर),जिल्लाका दुई नगरपालिकाले भिडभाड हुने तथा सार्वजनिक स्थलहरुमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधी छर्कन सुरु गरेका छन् । रामपुर नगरपालिका र तानसेन नगरपालिकाले नगरका आवतजावत हुने सार्वजनिक स्थलहरुमा औषधी छर्न सुरु गरेका हुन । रामपुर नगरपालिकाले मंगलबार देखि नगरपालिका कार्यालय बाट औषधी छर्न सुरु गरेको छ । रामपुर नगरपालिकाले सुरक्षा बेस क्याम्प रामपुरसंग समन्वय गरी नेपाली सेनाको सहयोगमा औषधी छरेको हो । पहिलो चरणमा रामपुर नगरपालिका कार्यालय परिसर, मालपोत तथा नापी कार्यालय परिसर, बेझाँड बजार प्रहरी विट, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, किसानबारी बजार चोक र रामपुर अस्पताल लगाएतका स्थानमा औषधी छरेको रामपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिए । उनले नगरपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोगमा तयार पारिएको किटनाशक औषधी सुरक्षा बेस क्याम्पको सुरक्षाकर्मीको सहयोगमा पम्प बाट छरिएको बताए । रामपुर नगरपालिकाले यी क्षेत्रहरुमा औषधी छर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

यता तानसेन नगरपालिकाले सोमबार देखि नगरका मुख्य बजार, बसपार्क, विशालबजार, तक्सार, शितलपाटी लगाएतका चोकहरुमा औषधी छर्किन सुरु गरेको थियो । नगरभित्र भित्रका नागरिकहरुलाई कोरोना संक्रमण नहोस् भनेर डिस इन्फेक्सन स्प्रे छर्किने काम भएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । उनका अनुसार नगरका अन्य स्थानमा समेत डिस इन्फेक्सन स्प्रे छर्किने छ । 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update