Shittalpati
दुर्गममा वडाको सम्पर्क कार्यालय

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–१४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।

उक्त सम्पर्क कार्यालयको नगरप्रमुख खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख पन्थीले पञ्जीकरण तथा सिफारिस लगायतका सेवाहरु लिन रातामाटावासीहरु घण्टौं लगाएर पराल्मी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले चार महिना अघि निर्वाचनको समयमा आफूले सम्पर्क कार्यालय मार्फत वडाको सार्वजनिक प्रशासनको सेवालाई रातामाटाबासीको आँगनमा पुर्‍याउन गरेको प्रतिवद्धता पुरा गरेको बताए । ‘थुप्रै भौतिक पूर्वाधारको संरचना निर्माण गर्नुभन्दा सार्वजनिक प्रशासनिक सेवालाई छरितो र नागरिकको घरदैलोमा पु¥र्याउने कार्य महत्वपूर्ण हो’ नगरप्रमुख पन्थीले भने, ‘यहाँका नागरिकहरुले सम्पर्क कार्यालयबाट भरपुर सेवा लिनु हुनेछ ।’ उनले वडा कार्यालय तथा सम्पर्क कार्यालयबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुलाई सरल, सहज र चुस्त राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले भौगोलिक कठिनाईका कारण वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई सरल बनाउन सम्पर्क कार्यालयको शुभारम्भ गरिएको बताए । नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरी यस कार्यलाई पूर्णता दिर्ईएको अर्यालले बताए । वडा अध्यक्ष धनबहादुर पुनले सम्पर्क कार्यालय स्थापनासँगै यहाँका नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । वडा सदस्य लक्ष्मी पन्थीले सम्पर्क कार्यालय शुभारम्भ भएको भन्दै खुसी व्यक्त गरिन् । एउटै वडा भएपनि भौगोलिक कठिनाईका कारण यस वडा वारीपारी विभाजित छ । बीचमा रेसुङ्गाबाट बग्दै आएको टेकुवा खोलो छ । वारीपारी गर्न सहज पुलको समेत राम्रो प्रबन्ध छैन । वडा कार्यालय पुग्न रातामाटाबासीका लागि घण्टौं हिड्नुपर्छ । मोटरबाटो समेत सुविधा छैन । बर्खामासमा पैदल नै हिडेर जाँदा पहिरोको जोखिम छ । वडाको सम्पर्क कार्यालय स्थापना भएपछि रातामाटाबासी निकै उत्साहित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update