
रामचन्द्र रायमाझी
पाल्पा,विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट बच्नका लागि जिल्लामा सञ्चालित एम्बुलेन्स सञ्चालक संस्थाहरुले चालक र विरामीको दुरी व्यवस्थापन गर्न लागेका छन् । चालकहरुले आफुहरु असुरक्षित भएकाले एम्बुलेन्स नचलाउने घोषण गरेपछि कोरोना संक्रमण रोकथाम तथा उपचारार्थ गठित कमाण्ड पोष्टको बैंठकले एम्बुलेन्स सञ्चालक संस्थाहरुलाई बिरामी र चालकको बीचमा अनिवार्य रुपमा बार वा पर्दा लगाएर चालकको सुरक्षालाई ध्यान दिदै एम्बुलेन्स चलाउन निर्देशन दिएसँगै चालक र विरामीको दुरी व्यवस्थापन गर्न लागेका हुन् । एम्बुलेन्समा जस्तासुकै विरामीहरु पनि राखेर अस्पताल पु¥याउनु पर्ने भएकाले चालक र विरामीको दुरीलाई व्यवस्थापन गरी चालकलाई सुरक्षित राख्नका लागि आफुहरुले एम्बुलेन्समा बार लगाएर सञ्चालन गरिएको रेडक्रस पाल्पा शाखाका कार्यक्रम अधिकृत विनोद भारतीले बताए । उनले भने‘ एम्बुलेन्स चालक विरामीहरुबाट बढी जोखिममा रहने भएकाले उसको सुरक्षाका लागि माक्स,गलप्स,चस्मा, रेन्कोट, क्यापको व्यवस्था गरेका छौं ।’
जस्तासुकै किसिमका बिरामी बोक्दा आफुहरुलाई संक्रमण हुने डर भएकाले सुरक्षाको प्रत्याभूति हुनुपर्ने संयुक्त एम्बुलेन्स चालक संघ जिल्लाका अध्यक्ष सुरज केसीले बताए । उनले भने‘हामीहरुलाई त्रासै त्रासमा विरामी बोक्नु पर्ने बाध्यता रहेकाले एम्बुलेन्स चालकको सुरक्षाका लागि सरकारबाट कुनै पनि पहल नहुनु दुखद् हो ।’ प्रदेश सरकारले सुरक्षाका लागि आवश्यक सामग्री सहयोग गर्ने भने पनि आफुहरुले अहिलेसम्म नपाएको अध्यक्ष केसीले गुनासो गरे । जिल्लामा अहिले २२ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । एम्बुलेन्स अत्यावश्यक साधन भएकाले पनि एम्बुलेन्स चालकको यक्तिगत सुरक्षाको व्यवस्था हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताउँदै आएका छन् । चालक र विरामीको दुरी व्यवस्थापन गरेरमात्र संक्रमणबाट जोगिन प्राप्त नहुने संयुक्त एम्बुलेन्स चालक संघले जनाएको छ । एम्बुलेन्समा चालक र विरामीहरुको दुरी व्यवस्थापन गर्न भनिए पनि सुरक्षाका अन्य सामग्री तर्फ ध्यान दिइएका छैन । उनीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएकाले एम्बुलेन्स चलाउन जोखिम समेत रहेको छ । जिल्लाका सबै स्थानीय तहलाई एम्बुलेन्स र चालकलाई सुरक्षित रुपमा तयारी अवस्थामा सहन निर्देशन दिएको जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनीले बताइन् ।