Shittalpati
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज

वालिङ, स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बिउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बिउ समूहद्वारा उत्पादित बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो ।

गण्डकी प्रदेशभरिका एघार वटै जिल्लामा रहेका विभिन्न ७२ बिउ उत्पादन समूह, सहकारीमध्ये यहाँसम्म ल्याउन सम्भव हुने स्याङ्जासहित आसपासका समूहले उत्पादन गरेको बिउ प्रशोधन गरिने कृषि स्रोत केन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए । बिउबिजन प्रयोगशाला पोखरामा बिउ उत्पादनका लागि सूचीकृत भएका व्यावसायिक उत्पादक समूह सहकारीले उत्पादन गरेका खाद्यान्न तथा तरकारी बाली अन्तर्गत धान, मकै, गहुँ, दलहन, तेलहनका बिउको प्रशोधन गरिने उनले बताए । ‘गुणस्तरीय बिउका लागि फल पाकेदेखि भण्डारण सम्मका निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएकाले गुणस्तर जोगाइराख्नका लागि किसानलाई समस्या छ’, रेग्मीले भने, ‘किसानले उत्पादन गरेको बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादीद्वारा उपचार गर्ने र प्याकेजिङ गर्ने प्रविधि, उपकरण नहुने भएकाले किसानको सहजताका लागि प्रशोधन केन्द्र स्थापना गरेका हौँ ।’ भर्खरैमात्रै सञ्चालनमा आएको प्रशोधन केन्द्रमा जडान गरिएको मेसिनले प्रतिघण्टा डेढ टन बिउ प्रशोधन गर्छ । ‘उत्पादन भएको बस्तुलाई किसानले खेत बारीबाट सिधँै प्रशोधन केन्द्रमा ल्याए हुन्छ’, उनले भने, ‘सफा गर्नेदेखि प्याकेजिङसम्मका सबै काम प्रशोधन केन्द्रमा जडान गरिएको मेसिनले गर्छ ।’ कृषि स्रोत केन्द्रले बिउ उत्पादक समूह सहकारीबाट उत्पादन हुने खाद्यान्न तथा तरकारी बालीको बिउको उत्पादन र मागको सन्तुलनको तथ्याड्ढ बनाइएकाले बिउ उत्पादक र बिक्रेता तथा उपभोक्ता बीच समन्वयकारी भूमिका खेल्ने गरेको छ ।

प्रमाणित बिउ कार्यालयको नियमानुसार बिक्री गरेको खण्डमा बिक्री मूल्यको ५० प्रतिशत थप प्रोत्साहन अनुदान किसानलाई उपलब्ध गराइने अधिकृत रेग्मीले बताए । बिउ उत्पादनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सक्रिय बिउ उत्पादक समूह, सहकारीललाई कार्यालयमार्फत पूर्वाधार निर्माण तथा क्षमता विस्तारका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । ‘बिउ उत्पादनलाई वृद्धि गर्दै गण्डकी प्रदेशलाई खाद्यान्न तथा तरकारी बालीमा आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना अगाडि सारेका छौँ’, उनले भने, ‘अब कार्यालय आफैले पनि जग्गा भाडामा लिएर बिउ उत्पादन थाल्नेछ, बिउ उत्पादक समूह, सहकारीका किसानको क्षमता विकाससँगै उत्पादनको क्षेत्र विस्तारमा जोड दिइने छ ।’ बिउ उत्पादक समूह सहकारीका लागि सम्बन्धित ठाउँमै स–साना प्रशोधन उपकरणसहितको सुरक्षित भण्डारणका लागि पूर्वाधार निर्माण र क्षमता विकासमा कार्यालयमार्फत सहयोग गर्ने छ ।

कार्यालयले मेसिन जडानका लागि रु ५७ लाख र भवनका लागि रु ३५ लाख लगानी गरेको छ । बिउ सफा गर्नेदेखि प्याकेजिङ गर्नेसम्मका प्रक्रिया मेसिनमार्फत नै गरिने भएकाले आगामी वर्ष सुरक्षित भण्डारणका लागि भण्डार गृह बनाउने तयारीमा रहेको उनले बताए । वालिङमै बिउ प्रशोधन केन्द्र स्थापना भई सञ्चालनमा आएसँगै सहजता भएको हरितज्योति एग्रोफर्म प्रालि वालिङका सञ्चालक शिवलाल डुम्रेले बताए । फर्ममार्फत उत्पादन भएको गहुँमध्ये प्रशोधन गरी तीस क्वीन्टल नार्कबाट प्रमाणित बिउ भण्डारण गरी राखेको उनले बताए । ‘बिउ प्रशोधनका लागि अन्यत्रै टाढा जानुपर्दा खर्च बढ्ने र झण्झटिलो हुन्थ्यो’, उनले भने, ‘यहीँ नजिकै प्रशोधन गर्न पाउने सुविधा भएसँगै बिउ उत्पादकलाई सहजता भएको छ ।’ –रासस

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update