Shittalpati
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा

कृष्ण पोखरेल
पाल्पा, राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको एसईई परीक्षा २०७८ को रिजल्टमा पाल्पामा ५२ जना विद्यार्थीले मात्र ३.६ देखी ४ जीपीएका साथ ए प्लस ल्याएका छन् । २ सय ५२ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए नतिजा हासिल गरेका छन् भने ५ सय ८ जना विद्यार्थीले २.८ देखी ३.२ सम्म जीपीए ल्याई वि प्लस ल्याए । यस्तै ७ सय ८२ जना विद्यार्थीले २.४ देखी २.८ सम्म जीपीएका साथ वि, १ हजार ३ सय ८१ जना विद्यार्थीले २ देखी २.४ जीपीए ल्याई सि प्लस अंक ल्याई उत्र्तिण गरेका छन् । यसैगरी १ हजार २ सय ५१ जना विद्यार्थीले १.६ देखी २ जीपीएका साथ सि, ४ सय १३ जना विद्यार्थीले १.२ देखी १.६ सम्म जीपीएका साथ डि प्लस र २१ जना विद्यार्थीले ०.८ देखी १.६ जीपीएका साथ डि अंक ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पा प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले २ जिपिए भन्दा तल अंक ल्याउने परीक्षार्थीहरुलाई ग्रेड वृद्धिको लागि मौका परीक्षाको अवसर दिएको इकाइ प्रमुख सुवेदीले बताए । विगतका तुलनामा परिणाम सन्तोषजनक नभएपनि विद्यार्थीले २ महिना अध्ययन गरेर यो परिणाम आउनु, रिजल्ट चिन्ताजनक नरहेको इकाइ प्रमुख सुवेदीले बताए । पाल्पामा सबैभन्दा बढी पाल्पा आवासीय सेकेण्डरी स्कूलका तानसेनका सकल्प आचार्यले ३.९५ जीपीए ल्याएका छन् भने जनता नमुना विद्यालयकै रोशन रोकायाले प्राविधिक तर्फ ३.९२ जीपीए ल्याएका छन् भने जनता नमुना विद्यालयकै कुशल भट्टराईले साधारण तर्फ ३.९० जीपीए ल्याएका छन् । गत वर्ष एसईई २०७७ मा ४९ जनाले ४ जीपीए, ५ सय ५७ जनाले ३.६ देखी ४ जीपीए, ८ सय ७१ जनाले ३.२ देखी ३.६ जीपीए, १ हजार ३ सय १४ जनाले २.८ देखी ३.२ जीपीए,१ हजार ५ सय ५५ जनाले २.४ देखी २.८ जीपीए, ५ सय ५९ जनाले २.० देखी २.४ जीपीए र २८ जनाले १.६ देखी २ जिपिए प्राप्त गरेका थिए ।

गत बर्ष कोरोना सक्रमणको कारण विद्यालयले नै कक्षा १० को आधारमा विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए । २ बर्ष विद्यार्थीले कोरोनाको कारण जाँच नदिइक नै एसईई परीक्षामा पास गरेका थिए । यस पटक विद्यार्थीले कक्षामा राम्रोसँग पठन–पाठन नगरी भौतिक उपस्थितमा जाँच दिएका कारण रिजल्ट केही खस्किएको बताइएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको देशभरको नतिजा अनुसार कोभिड अगाडि र अहिलेको नतिजा तुलनात्मक रूपमा खस्किएकोे हो । यसअघि २०७५ सालमा भौतिक उपस्थितिमा परीक्षा भएको थियो । त्यसपछिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको थियो । पछिल्लो समय माथिल्लो जिपिए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य घटेको छ । शैक्षिक सत्र २०७५ मा ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको प्रतिशत ३.८३ थियो । यो वर्ष भने उक्त प्रतिशत घटेर १.९४ मा झरेको छ ।

यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको प्रतिशत तीन वर्षअघि ११.१३ रहेकोमा यो वर्ष ८.४० मा सीमित भएको छ । यसभन्दा तलको जिपिए ल्याउने परीक्षार्थी भने २०७५ सालमा भन्दा बढी छ । तीन वर्षअघि २.८ देखि ३.२ जिपिए ल्याउने परीक्षार्थी १३.८८ प्रतिशत रहेकामा अहिले १४.१० प्रतिशत रहेका छन् । त्यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६७ प्रतिशत रहेकामा २०७८ सालमा १८.३१ प्रतिशत रहेको छ । २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी तीन वर्षअघि २१.३८ प्रतिशत रहेकामा अहिले २२.७४ प्रतिशत रहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update