Shittalpati
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।

शिक्षा आर्जनबाट बञ्चित ती बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको हो । शिक्षाबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था गर्न लागेको छ । अभिभावक गुमाएकै कारण आर्थिक बोझले शिक्षाबाट बञ्चित रहेकालाई पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताए ।

अभिभावक गुमाएका तथा अभिभावक हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरी कक्षा छाड्न बाध्य भएका छन् । विशेषगरी छोरा रोजगारीका लागि जाने तथा छोरी आफन्त कहाँ आश्रय लिनुपर्ने अवस्था छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावक विहीन बालबालिकाको तथ्याङ्क संकलन गर्न थालिएको छ ।

तथ्याङ्क संकलन भएपछि काम अगाडि बढ्ने छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम गापास्तरीय एक नमूना विद्यालय निर्माण गरिने छ । हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकामा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन अंग्रेजी र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्बन गरिने छ । गाउँपालिकाभित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको संख्या बढाउन शिक्षालाई गुणस्तरीय र शिक्षकको मनोबल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने नीति गाउँपालिकाको रहेको छ । –रासस

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update