Shittalpati
पाल्पामा १ हजार ५०  नागरिक उच्च निगरानीमा

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, जिल्लाका विभिन्न स्थानमा विदेशबाट आएकाहरुको उच्च निगरानी राखिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को त्राससँगै भारत लगायत तेस्रो मुलकबाट जिल्लामा आएका एक हजार ५० जनालाई उच्च निगरानीमा राखिएको हो । जिल्लाका स्थानीय तहरुले आ–आफ्ना स्थानका नागरिकहरुलाई कोरोना भाइरसको सक्रमणबाट बच्न र बचाउन उच्च निगरानीमा राखेका छन् । बाहिरी मुलुकबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण उच्च रहने सम्भावना भएकाले स्थानीय तहहरुले होम क्वारेन्टाइनमा राखेर उनीहरुको उच्च निगरानी बढाएका हुन् । जिल्लाका १० वटै स्थानीय तहहरुले छुट्टाछुट्टै क्वारेन्टाइनको व्यवस्था मिलाएका छन् । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेकाले सरकारले सतर्कता अपनाउदै देशका विभिन्न सीमाहरु बन्द गरे पनि नेपाली नागरिकहरु गाउँ आउने क्रम रोकिएको छैन । विभिन्न सीमा नाका हुँदै फागुन १ गते यता १ हजार ५० जना नागरिक जिल्ला प्रवेश गरेका छन् । जिल्लाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा, पुर्वखोला, तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट, माथागढी र निस्दी गाउँमा भारत लगायत तेस्रो मुलुकबाट आएका १ हजार ५० जनालाई कोरोना भाइरसको सक्रमणबाट बच्न बचाउन उच्च निगरानीमा राखिएको हो । उनीहरुलाई घरमै क्वारेन्टाइनमा राखिएको र समस्या देखिएमा गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन तथा अस्पतालको आइसोलेसन वेडमा राख्ने गरी तयारी गरिएको सम्बन्धित स्थानीय सरकारले जनाएका छन् । जिल्लाका स्थानीय सरकारहरुले बाहिरबाट आएका व्यक्तिहरुको लगत संकलन गर्दै आएका छन् ।

तानसेन नगरपालिकाले भारत र तेस्रो मुलुकबाट नगर प्रवेश गरेका व्यक्तिहरुको लगत संकलन गरेको छ । तानसेनमा अधिकांस नागरिक भारतबाट आएका छन् । भारत र तेस्रो मुलकबाट नगरमा ७४ नागरिक आएको नगरपालिकाका सूचना अधिकारी दुर्गा बहादुर थापाले जानकारी दिए । उनका अनुसार ५६ जना भारत र १८ जना अन्य मुलकबाट आएका छन् । रामपुर नगरपालिकामा भारत लगायत तेस्रो देशबाट १ सय ३५ जना भित्रिएको नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए । उनीहरुलाई घर–घरमा स्वास्थ्यकर्मी सहितको टोली पढाई घरमै क्वारेन्टाइनमा राखिएको नगर प्रमुख थापाले बताए ।

त्यस्तै रैनादेवी छहरा गाउँपालिकामा सबै भन्दा बढी नागरिक आएका छन् । गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीका अनुसार २ सय ७५ जना भारतबाट र १३ जना तेस्रो मुलुकबाट आएका हुन् । उनका अनुसार भारतको हिसारबाट आएका ४ जनालाई वडा नं ३ को ढुकुरखोला प्राविमा रहेको क्वारेन्टाइनमा राखिएको छ । संक्रमण फैलिएको स्थानबाट आएकाले उनीहरु स्वतस्फूर्त रुपमा क्वारेन्टाइनमा बसेका हुन् । अन्यलाई भने घरमै उच्च सतर्कताका साथ राखिएको अध्यक्ष कार्कीले जानकारी दिए । बगनासकाली गाउँपालिकामा ७४ जना नागरिक भारत लगायतका अन्य मुलुकबाट आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनका अनुसार ५९ जना भारतबाट र १५ जना अन्य मुलुकबाट आएका हुन् । उनीहरुलाई उच्च निगरानीका साथ होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष बस्यालले बताए । उनीहरुलाई रुघाखोकी ज्वरो आएमा नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न समेत अनुरोध गरिएको बस्यालले बताए ।

माथागढी गाउँपालिमा विभिन्न समयमा ७२ जना नागरिकहरु बाहिरी मुलुकबाट आएका छन् । जसमध्ये ४५ जना भारत र २७ जना तेस्रो मुलुकबाट आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उनीहरुलाई व्यवस्थित तरिकारले घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए । रिव्दीकोट गाउँपालिकामा पनि १ सय ४५ जना नागरिक बाहिरबाट आएका छन् । जस मध्ये भारतबाट १ सय २५ जना र अन्य मुलुकबाट २० जना नागरिक आएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिए । त्यस्तै रम्भा गाउँपालिकामा पनि बाहिरबाट आएका ४९ जना रहेका छन् । जसमा ४ जना भारत र बाकी अन्य मुलुकबाट आएका हुन । उनीहरुलाई घरमा पुगी स्वास्थ्य जनचेतना दिई होम क्वारेन्टाइनमा राखिएको र आवश्यक परे गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिने अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

 

पुर्वखोला गाउँपालिका भित्र भारत लगायत अन्य देशबाट गरी १ सय ११ जना व्यक्ति भित्रिएका छन् । बुधबार बेलुका तानसेनको क्वारेन्टाइनमा बसेका २१ जना व्यक्तिहरुलाई गाउँपालिकाको वडा नं १ सिलुवाको जनमार्ग माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको गाउँपालिकका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । गाउँपालिकाले जनमार्गमा ३० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । तिनाउ गाउँपालिका भित्र भारतबाट ३८ जना र अन्य मुलुक बाट ७ जना गरी ४५ जना भित्रिएका छन् । उनीहरुको घर–घरमा पुगेर स्वास्थ्य जाँच लिएको र घरमै अलग्गै कोठामा बस्न लगाएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताए । सिमानाकामा स्थानीयको सहयोगमा अवैध व्यक्तिहरुको रोकथाम थालिएको उनले जानकारी दिए । त्यस्तै निस्दी गाउँपालिकामा पनि ५७ जना नागरिक प्रवेश गरेका छन् । गाउँपालिकाले उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै बस्ने प्रवन्ध मिलाएको छ । आवश्यक परेको खण्डमा मित्यालको गौरीशंकर माविमा निमार्ण गरेको १२ बेडको क्वारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update