Shittalpati
भारतबाट फर्किएका रामपुरका १२ जना क्वारेन्टाईनमा

इमान सिं राना
पाल्पा(रामपुर), पाल्पाको रामपुर नगरपालिकाले भारत बाट फर्किएका १२ जनालाई क्वारेन्टाईन राख्न सुरु गरेको छ । रामपुर नगरपालिका ५ सानीअमराई स्थित बालकल्याण प्राथमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा ९ जना र रामपुर १ को छम्के आधारभूतमा ३ जनालाई राखिएको हो । भारतको मुम्बाई बाट धनगढी हुँदै बुधबार पाल्पा आईपुगेका ९ जनालाई बगनासकाली गाउँपालिकाले चिर्तुङ्गधारा स्थित क्वारेन्टाईनमा राखेको थियो । बगनासकाली गाउँपालिकाले स्वास्थ्य परीक्षण पश्चात रामपुर नगरपलिका संगको सहकार्यमा रामपुर पठाएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

नगरपालिकाले उनीहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राख्ने छ । जस मध्ये वडा नं. १० का ७ जना, ६ को १ जना र वडा नं. ७ को १ जना रहेको छ । उनीहरुलाई खाना, बास, खानेपनी र सरसफाईको लागि आवश्यक व्यवस्था गरिएको रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिए । उनले विद्यालयको ४ कोठामा २४ बेड तयार गरिएको बताए ।
रामपुर १ का वडा अध्यक्ष मित्रलाल कंडेलले केही दिन अघि भारत बाट आएका ३ जनालाई विद्यालयमा आएर बस्न आग्रह गरिएको बताए । यता रामपुर नगरपालिकाले चैत्र महिना भित्र घर फर्किएका १ सय ३५ जना नागरिक र उनीहरुको परिवारलाई होम क्वरेन्टाईनमा बस्न आग्रह गरेको छ । रामपुर नगरपालिकाले वडा मार्फत संकलन गरेको विवरण अनुसार उनीहरु भारत तथा अन्य मुलुक बाट आएको रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले बताए ।

उनका अनुसार वडा नं. १ मा १२ जना, वडा नं. २ मा २ जना, वडा नं. ३ मा १३ जना, वडा नं. ४ मा १७ जना, वडा नं. ५ मा ६ जना, वडा नं. ६ मा ३ जना, वडा नं. ७ मा ८ जना, वडा नं. ८ मा १६ जना, वडा नं. ९ मा १७ जना र वडा नं. १० मा ४१ जना गाउँ फर्किएका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस अघि आएकाहरु परिवार संग घुलमिल भैसकेकाले छुट्टै राख्नु भन्दा घर मै बस्न आग्रह गरिएको बताए । उनले अब आएका नागरिकलाई छुट्टै क्वारेन्टाईनमा अनिवार्य गरिने बताए । थापाले नगरको प्रत्येक वडाहरुमा क्वारेन्टाईन निर्माण भैरहेको बताउँदै केहीमा तयार भैसकेको र केहीमा प्रक्रिया अघि बढेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update