Shittalpati
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने

पाल्पा, नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

लामो समय ज्योतिष क्षेत्रमा काम गर्दै आएका न्यौपाने विभिन्न धार्मिक संघसंस्था र सहकारी अभियानमा समेत सक्रिय रहेका छन् । परिषद्को अध्यक्षमा चयन भएसँगै अध्यक्ष न्यौपानेले एनजेडीसँगको कुराकानीमा जिल्लामा रहेका ज्योतिषहरुलाई संगठनात्मक रुपमा एक बनाउन आफु लागि पर्ने बताए । ज्योतिषहरूको संगठनात्मक एकताले गर्दा नै विश्व ज्योतिष महासंघको कार्यालय नेपालमा राख्न सफल भएको भन्दै उनले पाल्पामा पनि ज्योतिषहरूको संगठनात्मक एकतालाई थप सुदृढ बनाउने उद्घोष गरे । प.ज्यो. न्यौपानेले कुनै पनि ज्योतिषलाई समस्या परे संस्था उभिन तयार रहने भन्दै सबै ज्योतिषहरू एउटै संगठनमा बाँधिएर प्रविधिको समेत प्रयोग गरी आधुनिक विज्ञानसँग प्रतिष्पर्धा गरेर अघि बढ्ने बताए । उनले ज्योतिषहरूले शास्त्र संगत मर्यादालाई पालन गर्दै फलितमा एकरूपता ल्याउनु पर्ने आवश्यकता रहेको औल्याए । निराधार कुरा गरेर विकृति फैलाउने काम बन्द गर्दै शास्त्रीय आधार तथा अनुशासनको पालना गरी समाजका अन्य मानिसलाई अनुशासित बनाउन र समाजलाई शास्त्रीय आधारमा डोर्याउने काममा परिषद् लाग्ने न्यौपानेले बताए ।

यस्तै परिषद्ले उपाध्यक्षमा ज्योतिष प्रकाश न्यौपाने, ज्योतिष विष्णु बस्याल, सचिव जयराम सापकोटा, सह– सचिव डुकुलराज ढकाल, कोषाध्यक्ष मैयादेवी घिमिरेलाई चयन गरेको छ । परिषद्को सदस्यहरुमा गुरु प्रसाद गैरे, सूर्यप्रसाद न्यौपाने, होमनाथ तिवारी, जीवन पाण्डे, हरी लम्साल, कमलराज पौड्याल र एकदेव कोइराला रहेका छन् । अधिवेशनको नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक जनार्दन न्यौपानेले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका न्यौपानेले ज्योतिष क्षेत्रलाई मर्यादित र अनुशासित बनाउने दिशामा ध्यान दिन परिषद्लाई आग्रह गरे । कार्यक्रममा परिषद्का केन्द्रीय सचिव मनोहर घिमिरे, केन्द्रीय सदस्य कुशमाखर न्यौपाने लगायतले परिषद्लाई एक ढिक्क बनाएर लैजानु पर्नेमा जोड दिएका दिए ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update