Shittalpati
निषेधाज्ञाको अवज्ञा नगरौं

सरकारले मंगलबारदेखि एक हप्ताको लागि लागु हुने गरी लकडाउन घोषणा गरे पनि त्यसको अवज्ञा गरेको भन्दै ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले आमनागरिकको सुरक्षाको लागि भन्दै एक पछि अर्को गर्दै सकारात्मक कदमहरु चालेपनि नागरिकबाटै यसको अवज्ञा गर्नु अत्यन्त दुखद् हो । सरकारले एक साता घरभित्रै बस्न आग्रह गरे पनि त्यसको अवज्ञा गरेको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गरेका छन् ।

पाल्पा, गुल्मीमा पनि मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । लकडाउनको बेवास्ता गर्दै सर्वसाधारण बाहिर निस्कन थालेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरी उच्च सतर्कता अपनाएका छन् । निषेधाज्ञा नमानी बाहिर निस्किए एक महिनादेखि छ महिनासम्म कैद सजाय हुन सक्ने बताइए पनि सर्वसाधरण नागरिकले यसको अवज्ञा गर्नुले नागरिक नै गैरजिम्मेवार रहेको ठहर भएको छ । सडकमा सुरक्षाकर्मीको आँखा छलेर कुनै बहादुरी देखाइएको नभई आफ्नो र परिवारको स्वास्थ्य माथिको खेलवाड गरिरहेको कुरा प्रत्येक नागरिकले बुझ्नु जरुरी छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यकीय काम बाहेक हिँडडुल गर्न नपाउने, सबै सीमा नाका बन्द गरेर आन्तरिक गतिविधि समेत रोकेको छ । मुलुकमा संक्रमणको सन्त्रास बढिरहेको तथा विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिमयुक्त देशको सूचीमा राखिरहेका बेला सरकारले यस्तो कठोर निर्णय लिएको देखिन्छ । निश्चय पनि आफ्ना नागरिकलाई घरभित्रै बस्न बाध्य बनाउने तथा आर्थिक, सामाजिक गतिविधि ठप्प पार्ने राज्यको कुनै चाहना नभई बाध्यता नै हो भने यसलाई इमानदारितापूर्वक पालना गर्नु सबै नागरिकको दायित्व पनि हो । त्यसैले आम नागरिकले लकडाउन र निषेधाज्ञा आफ्नै सुरक्षाका लागि हो भन्ने बुझ्न सक्नुपर्छ ।

मंगलबार पहिलो दिन नै जनताले लकडाउनको बेवास्ता गरेर स्थिति झन् जटिल बनाएको देखिएको छ । देशैभर आम जनताले यसलाई जति गम्भीरतापूर्वक पालना गर्नुपर्ने गरेको देखिएको छैन । भाइरसको संक्रमण सानो त्रुटि वा लापरबाहीबाटै व्यापक रूपमा फैलनसक्ने हुनाले प्रत्येक नागरिकले लकडाउन र निषेधाज्ञाको पूर्ण पालना गरौं ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update