Shittalpati
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम

हाम्रा संवाददाता
पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल स्काउटका केन्द्रीय प्रशिक्षक दामोदर बस्नेतले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने अभियानका साथ तालिम सञ्चालन गरिएको बताए ।

पालिका उपाध्यक्ष लालबहादुर थापाले स्काउटको माध्यमबाट बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने बताए । प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने काममा स्काउटका विद्यार्थीलाई परिचालन गरी मानाव सेवामा खटाईने बताए । तालिम शिक्षा शाखा प्रमुख लक्ष्मी कुवँरले शिक्षकहरुलाई सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य, समाजका हरेक वर्ग तथा समूहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरूमा स्काउट बालबालिकाको परिचालन गर्न अनुरोध गरिन् । कार्यक्रममा स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रममा स्काउट बालबालिकाहरुको परिचालन गर्ने गराउने विषयमा प्रशिक्षक बस्नेतले जानकारी गराएका थिए । कार्यक्रम शिक्षक लोकबहादुर सुनारीको अध्यक्षतामा भएको तिनाउ रोजगार संयोजक कृष्ण ज्ञवालीले जानकारी दिए । प्रशिक्षक प्रशिक्षण तालिम लिएका शिक्षकहरुले आ–आफनो विद्यालयमा स्काउट गठनदेखी परिचालन गर्ने छन् । स्वस्थ, विकृतिमुक्त र आपत विपतमा सहयोगी समाज निर्माण गर्नु स्काउटको उद्धेश्य रहेको छ ।

नेपालमा सर्वप्रथम राजा त्रिभुवनको पाला (वि.सं. २००९) मा स्काउट भित्रिएको हो । त्यसबेला भारतबाट प्रशिक्षकहरु आएर नेपालीहरुलाई तालिम दिएका थिए । तालिम लिएका मध्ये राष्ट्रकवि माधव घिमिरे पनि हुन् । मुलुक संघीयतामा गएसँगै स्काउटले पनि आफ्नो संगठनलाई सोही ढाँचामा लैजान शुरु गरेको छ । सोही बमोजिम स्काउटले हरेक प्रदेशका स्थानीय तहमा स्काउटलाई विस्तार गर्ने लक्ष्य लिएको छ । व्यक्तिको चारित्रिक तथा व्यक्तित्व विकासका लागि स्काउटले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update