Shittalpati
रेसुङ्गाका बिस कृषक सम्मानित

गुल्मी,  जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।

कृषकलाई हौसला दिन तथा व्यवसायिक रुपमा खेती गरिरहेकाहरुबाट अरुले पनि सिकून भनेर सम्मान गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनले कृषिका माध्यमबाट नगरपालिकाको आर्थिक समृद्धि र विकास हुने भएकाले नगरवासीलाई कृषिमा लाग्न प्रेरित गर्न पनि व्यवसायिक कृषकलाई सम्मान गरिएको बताए । आ.व.२०७९/८० को नीति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिकतामा राखिएको नगर प्रमुख पन्थीको भनाई छ । उनले भने ‘नगरपालिकाले कृषकलाई विशेष प्राथमिकताको आधारमा राखेको छ, कृषि, पर्यटन, शिक्षा, रोजगारलगायतमा रेसुङ्गा नगरपालिकालाई अब्बल बनाउन हामी लागि परेका छौँ । कृषकका समस्याहरु समाधान गर्न हामी निरन्तर लाग्ने छौँ ।’ नगरपालिकाको कृषि शाखाले आ.व.२०७८/७९ को नीति तथा कार्यक्रम अनुसार नै बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । व्यवसायिक कृषितर्फ नगरवासीलाई आकर्षित गर्न विभिन्न योजनाका कार्यक्रमहरु समेत ल्याइएको कृषि शाखाले जनाएको छ । आगामी दिनमा पनि उत्कृष्ट कृषकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

नगरपालिकाले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७९/०८० बजेट ल्याएको छ । उसले ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको हो । यस बजेटले कृषि उत्पादन र अन्य रोजगारमुलक क्षेत्रलाई विशेष महत्व दिएको छ । बजेटमा व्यवसायिक कृषिमार्फत गरिव विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउने उल्लेख गरेको छ । यस्तै बाँदरका कारण खेतीबाली जोगाउन हम्मेहम्मे भएका यहाँका कृषकहरुका लागि बजेटमा बाँदर नियन्त्रण गर्न विशेष कार्यक्रम समावेश गरिएको छ । कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको व्यवस्थापनका लागि कृषि उपज संकलन केन्द्र समेत विस्तार बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update