Shittalpati
मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद

पाल्पा, जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले मंगलबार तानसेनमा भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व भएकाले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिइदै आइएको बताए । उनले नेपाली जनताका लागि जननेता भण्डारीको योगदानको एमालेले अनुसरण गर्दै आएको धारणा व्यक्त गरे । कार्यक्रमका विशिष्ट अथिति तथा नेकपा एमाले प्रदेश सांसद नारायण आचार्यले भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेको बताउँदै जतिसुकै व्याख्या गरे पनि कमै हुने बताए । कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटिका सदस्य देवीप्रसाद बस्यालले जननेता भण्डारीको परिचय, योगदान र सिद्धान्तका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनको विचार र सिद्धान्त सबैले अनुसरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेकपा एमालेका तानसेन नगर कमिटी सभापति गुराँस आत्रेय, प्रेस चौतारीका केन्द्रीय सदस्यहरु भगवान भण्डारी, कमल तिमिल्सीना, नेपाल पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीना, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल लगायतले मदन भण्डारीको योगदानका विषयमा चर्चा गरेका थिए । चौतारीका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update