Shittalpati
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’

स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् । पाँच दलिय गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट पालिकाको अध्यक्षमा कार्की निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीसँग ५ वर्ष भित्र गर्ने कार्यक्रम र योजनाका विषयमा केन्द्रीत रहेर एनजेडी संवाददाता कृष्ण पोखरेलले गरेको कुराकानी ।
– तपाईका योजना र प्राथमिकता के–के हुन् ?
 अवश्य पनि म निर्वाचित भइसकेपछि पालिकाको समृद्धि र विकासका लागि थुप्रै योजनाहरु बनाएको छु । हामीले घोषणापत्र  अनुसार नै योजनाहरुलाई प्राथमिकरण गरेका पनि छौं । सेवाको हिसावमा पहिलो प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई राखिएको छ । आम्दानीको हिसावले कृषि र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेका छौ । अबको ५ वर्ष भित्र रिब्दीकोटवासीले गुणस्तरीय शिक्षाको लागि कक्षा १२ सम्म बाहिरी क्षेत्रमा जान नपर्ने गरी अध्ययन अध्यापनका लागि काम गर्ने योजना बनाएका छौं । यहाँ एउटा सुविधा सम्पन्न ठूलो विद्यालय सञ्चालनमा ल्याउने, शिक्षकदेखी विद्यार्थीलाई आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था मिलाउने योजनामा छौं । अर्काेतर्फ प्रत्येक माध्यमिक विद्यालयमा सिपमुलक, रोजगारमुलक प्राविधिक शिक्षा, पढ्दा पढ्दै कमाउने शिक्षा सञ्चालनका लागि काम गर्ने सोंचमा छौ । यहाँका ८ वटै स्वास्थ्य चौकीहरुमा गुणस्तरीय सेवा प्रदान गर्ने, विशेषज्ञ सेवा, सहित एमविविएस चिकित्सकको व्यवस्था गरी १५ देखी ५० बेडसम्मको अस्पताल सञ्चालन गर्ने योजना हाम्रो छ  । अर्कोतर्फ कृषिमा आधुनिकरण, यान्त्रिकरण गरी उत्पादनमा वृद्धि गर्ने, कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन दिने, कृषकहरुको उत्पादनलाई विक्रिका लागि पालिकाबाट बजारीकरणका लागि समन्वय गर्नेछौ । कृषिमार्फत गाउँ गाउँमा रोजगार सिर्जना गर्ने योजना छ । त्यस्तै हामीले पर्यटनलाई पनि प्राथमिकतामा राखेका छौं । यहाँ रहेका भैरवस्थान मन्दिर जलेश्वर मन्दिर, सेल्फीडाँडा, गढीमाई मन्दिर चर्चित धार्मिक तिर्थस्थलहरु छन् । पर्यटकीय स्थलहरुमा सेल्फी डाडा, चुनफानडाँडा, रिङसिङ लेक, रिब्दीकोट क्षेत्र, धुस्टुङ क्षेत्र, प्राकृतिक आनन्द लिन तथा धार्मिक पर्यटकहरुका लागि राम्रो गन्तव्य बन्दै गएकाले पर्यटकहरुलाई एक दुई रात रिब्दीकोट भित्र बसाल्ने योजना तथा कार्यक्रमहरु ल्याउने छौं ।
– बसाईसराई रोक्न योजना के छ ?
 हो, पछिल्लो समय बसराई सराई बढेको छ । मानिसहरु छोरा छोरी पढाउन, राम्रो स्वास्थ्य उपचार गर्न र आयआर्जनका लागि शहर केन्द्रीत भएको हामीले पाएका छौं । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र समेट्ने गरी हामी नीति, कार्यक्रम र बजेट ल्याउदै छौं । यी तीन वटा विषयमा हामी राम्रो काम गर्न सक्यौ भने अवश्य पनि यहाँबाट अन्यत्र बसाई सराई स्वाभाविक रुपमा रोकिने छ ।
खुर्सानीको बजारीकरणमा पालिकाको योजना के छ ?
 हो, पालिकाका प्रत्येक वडाहरुमा अकबरे खुर्सानीको उत्पादन भइरहेको छ । कृषकहरु खुर्सानीको खेतीतर्फ आकर्षित भइरहेका छन् । उत्पादित खुर्सानीको बजारीकरणमा हामीले विशेष ध्यान दिदै आएका छौं । विगतमा अदुवा, कफी, तरकारी, टमाटरले उचित मूल्य नपाउँदा कृषकहरु निराश भएको अवस्थालाई मध्यनजर गरी अकबरे खुर्सानीको बजारीकरणका लागि नेपालभरी नै समन्वय तथा सम्पर्क गरिरहेको छौं । खुर्सानीको अभियान सफल भएमा पालिकाबासीको आयआर्जन बढाउनेदेखी बढ्दो बसाई सराई रोक्न सकिने छ । अहिलेको बजार मूल्य अनुसार पालिकाभरी यो सिजनमा १५ देखी १८ करोड सम्मको अकबरे खुर्सानीको कारोबार ७ सय किलो उत्पादन हुने अनुमान पालिकाले गरेको छ  । नेपालका चाउचाउ कम्पनीदेखी तरकारी व्यापारी, काठमाडौंको कालीमाटी तरकारी बजारसम्म हामीले सम्पर्क गरेका छौं । अहिले सबैभन्दा चुनौतीका रुपमा रहेको खुर्सानीको मूल्य सुनिश्चितता गराउन हामी लागीपरेका छौं । मूल्य सुनिश्चतता भए मात्र कृषकहरु ढुक्क भएर उत्पादन वृद्धिमा लाग्ने छन् ।
के घोषणा पत्रमा भएका कुरा बजेटमा समेटिन्छ त ?
 हाम्रो विकासको मार्गदर्शन हामीले बनाएको ५ दलिय संयुक्त घोषणा पत्र हो । यही घोषणा पत्रको आधारमा नीति, कार्यक्रम तथा बजेट विनियोजन गछौं । ५ वर्षसम्म घोषणपत्रमा उल्लेख गरिएका अधिकांश योजना तथा कार्यक्रमहरु पुरा गर्ने गरी काम गर्ने छौं । प्राथमिकताको आधारमा १ वर्षे अल्पकालिन, ३ वर्षे, मध्यकालिन र ५ वर्षे दीर्घकालिन योजना बनाएर काम गर्ने छौं ।
पालिकालाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन के गर्नुहुन्छ ?
 सिंहदबारको अधिकार गाउँघरमा पुर्याएसँगै सिहदरबारबाट हुने गरेका भ्रष्टाचार पनि गाउँघरसम्म विकृतिको रुपमा आएको छ । मैले पालिकाबाट पाउने सेवा सुविधा तलब, भत्ता आफ्नो व्यक्तित प्रयोगमा खर्च नगर्ने चुनाव अघि नै घोषणा गरेको छु । अहिले पनि त्यो कुरामा म प्रतिवद्ध छु । मलाई भ्रष्टाचार गरेर सम्पत्ती कमाउनु पर्ने अवस्था छैन । मेरो आर्थिक हैसियत राम्रो छ । पालिकामा शुसासन कायम गर्ने, भ्रष्टाचारमुक्त बनाउने प्रमुख जिम्मेवारी र दायित्व मेरो हो । म कुनै पनि हालतमा पालिका भित्रबाट जनप्रतिनिधी होस् वा कर्मचारी अनैतिक तरीकाबाट काम गर्ने, कमाउने गरी काम गर्ने वातावरण हुन दिने छैन । यसमा नागरिक, सञ्चारकर्मीहरुबाट पनि नियमित रुपमा निगरानीको आशा राखेको छु ।
पाँच वर्षमा रिब्दीकोटको अवस्था कस्तो हुन्छ ?
मैले अहिलेसम्म तपाईसँग जतिपनि कुरा गरे त्यसको रिजल्ट ५ वर्षमा देखिन्छ । गाउँपालिकामा भएका समस्याले कुनै पनि घरपरिवारले बसाई सराई गर्ने अवस्थाको अन्त्य हुने छ  । आयआर्जन गर्ने खालको गुणस्तीय शिक्षा, गाउँ गाउँमा हुने छ । कृषि, पशु तथा पर्यटन बाटै गाउँ गाउँमै स्वरोजगार र रोजगारीमय रिब्दीकोट बन्ने छ । ठूला ठूला अपरेशन बाहेक स्वास्थ्य उपचार रिब्दीकोट भित्रै उपलब्ध हुने छ । यी क्षेत्रमा परिवर्तन हुने गरी मेरो टिमले काम गर्ने छ ।
अन्त्यमा,
मलाई पालिकावासीले मत दिएर पालिकाको नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । एकलो प्रयासले मात्रै विकास सम्भव हुँदैन । त्यसैले सबैसँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । समृद्ध रिब्दीकोट, खुसी रिब्दीकोटवासी बनाउन जनताको सहभागिता चाहिन्छ । जनताको सहभागिता विना म र मेरो टिमले मात्र काम गर्न सक्दैन । हरेक योजना तथा कार्यक्रममा जनताको सहयोगको अपेक्षा गरेको छु । हरेक सकारात्मक काममा सहकार्य सहयोग गर्न, काम गर्दा हुने कमिकमजोरी तथा नजानिकन हुने गरेका गल्तीहरु ओल्लाईदिन समेत म रिव्दीकोटवासीसँग अनुरोध गर्दछु । हामी जनप्रतिनिधी र जनताबिच समधुर सम्बन्ध रहँदा मात्रै मैले, मेरो टिमले र जनताले बनाउन खोजेको रिब्दीकोट बनाउन सकिन्छ । धन्यवाद 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update