Shittalpati
तीज : मौलिकता जोगाऔँ, विकृति हटाऔँ

नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हो । विशेषगरी महिलाहरूको भावना, भोगाइ, पीडा, खुसी र सामाजिक सम्बन्धलाई अभिव्यक्त गर्ने अवसरका रूपमा तीजको आफ्नै मौलिक पहिचान छ । पुस्तौँदेखि चलिआएको यो पर्व धार्मिक आस्था र पारिवारिक सम्बन्धसँग मात्र जोडिएको छैन, नेपाली समाजको संस्कृति र परम्पराको अभिन्न अंगसमेत बनेको छ । तर पछिल्लो समय तीज मनाउने शैलीमा आएको परिवर्तनले यसको मौलिकता र सांस्कृतिक पक्षमाथि प्रश्न उठ्न थालेको छ । समयसँगै संस्कृति र परम्परामा परिवर्तन आउनु स्वाभाविक हो । आधुनिक समाजमा तीज पनि नयाँ स्वरूपमा मनाइन थालेको छ । महिलाहरू घरको चौघेराभित्र सीमित नरही सार्वजनिक रूपमा भेला हुने, आफ्ना विचार र प्रतिभा प्रस्तुत गर्ने तथा आपसी सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा तीजलाई उपयोग गर्न थालेका छन् । 

यो परिवर्तन सकारात्मक पक्ष हो । तर संस्कृतिको नाममा देखासिकी, अनावश्यक खर्च, महँगा पहिरन तथा गरगहना प्रदर्शन र खानपानमा हुने प्रतिस्पर्धाले तीजको वास्तविक मर्मलाई ओझेलमा पार्दै गएको देखिन्छ । कतिपय अवस्थामा तीज आर्थिक हैसियत प्रदर्शन गर्ने माध्यमसमेत बन्न पुगेको छ । तीजको नाममा हुने अनावश्यक खर्चले निम्न तथा मध्यम वर्गीय परिवारमा आर्थिक दबाब सिर्जना गर्न सक्छ । अर्कोतर्फ, महिलाले तीजमा अनिवार्य रूपमा व्रत बस्नैपर्ने, दुःख सहनैपर्ने वा निश्चित सामाजिक भूमिकामा सीमित हुनुपर्ने पुराना मान्यतामाथि पनि समयअनुकूल पुनर्विचार आवश्यक छ । संस्कृति संरक्षणको अर्थ पुराना सबै अभ्यासलाई जस्ताको तस्तै निरन्तरता दिनु होइन, राम्रा परम्परालाई जोगाउँदै विभेदपूर्ण र अव्यावहारिक अभ्यासलाई सुधार्नु हो ।

आजको तीज महिलाको अधिकार, समानता, आत्मनिर्भरता र स्वतन्त्रताको आवाज उठाउने अवसर पनि बन्न सक्छ । तीजका गीत र कार्यक्रममार्फत महिलामाथि हुने हिंसा, बालविवाह, दाइजो प्रथा, लैङ्गिक विभेद तथा सामाजिक असमानताविरुद्ध जनचेतना फैलाउन सकिन्छ । यसले तीजलाई केवल मनोरञ्जन र धार्मिक अनुष्ठानमा सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउन सहयोग पु¥याउँछ । त्यसैले तीजको मौलिकता र सांस्कृतिक पहिचान जोगाउँदै यसलाई समयसापेक्ष, सभ्य र समावेशी बनाउनु आजको आवश्यकता हो । देखासिकी र अनावश्यक खर्चभन्दा आत्मीयता, समानता र सामाजिक सद्भावलाई प्राथमिकता दिऔँ । तीज हाम्रो संस्कृति हो—यसलाई विकृत होइन, समृद्ध बनाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी हो ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update