Shittalpati
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’

पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी स्वास्थकर्मी हुन् । उनी पेशाबाट सामाजिक र राजनीतिक क्षेत्रमा लागेका हुन् । नेकपा एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका उनी बैशाख ३० गते भएको स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भए । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा विजयी भए । अध्यक्षमा निर्वाचित चिदीले गाउँपालिकामा ५ वर्ष भित्र गर्ने कार्यक्रम र योजनाका विषयमा केन्द्रीत रहेर शित्तलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेलले गरेको कुराकानी :

तपाईंका योजना र प्राथमिकता के–के हुन् ?
– शिक्षा, स्वास्थ्य र कृषि मेरो पहिलो प्राथमिकता हो । यहाँ रहेका सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौं । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । अविभावक विहीन सबै बालबालिकालाई निःशुल्क शिक्षा दिईने छ । माथागढीवासीलाई स्वस्थ र सुखी बनाउन स्वास्थ्यका सूचकहरु माथि ल्याउने गरी योजना बनाएर कार्यान्वयन गर्नेछौं । जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्यको पहुँचमा पु¥याउने, स्वास्थ्य चौकी टाढा रहेका सबै स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने योजना बनाएका छौं । कृषि तथा पशुपालनलाई आधुनिकरण, व्यवसायिकरण गर्दै आयआर्जनमा वृद्धि गर्ने, निःशुल्क विउ विजन वितरण गर्ने, कृषि औजारमा अनुदान दिने, प्राविधिक सहयोगदेखि तालिमको व्यवस्था गर्नेछौं । नगदेवाली मौरी, तरकारी, खुर्सानी, दुध, मासु, फलफुल, अण्डा लगायतको पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउने छौं । महिलालाई उद्यमशिल बनाउन, तालिमदेखि आवश्यक सहयोग प्रदान गर्ने र स्वरोजगार बनाउने, विदेशिएका युवालाई विभिन्न किसिमको तालिम मार्फत स्वदेशमै रोजगार बनाउने योजना हामीसँग छ ।

बसाईसराई रोक्न योजना के छ ?
– हो, पछिल्लो समय बसराई सराई बढेको छ । अधिकांश मानिसहरु अवसरको खोजीमा शहर बस्ने गरेका छन् । माथागढीमा पनि मानिसहरुको बसाइसराई हुने गरेको छ । यसलाई रोक्न पालिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने छ । मानिसहरु, शिक्षा, दिक्षा, स्वास्थ्य तथा रोजगारका लागि बजार खोज्दै जाने गरेका छन् । गाउँमै गुणस्तरी शिक्षा, पालिकामै १५ बेडको अस्पताल, प्रत्येक वडामा व्यवस्थित सुत्केरी, ल्याव सेवा सहित स्वास्थ्य चौकी, विभिन्न किसिमको तालिमबाट गाउँमै रोजगारी, घर –घर टोल–टोलमा यातायातको सुविधा प्रदान गर्नेछौं । गाउँमा उद्यमी बन्न चाहने युवा, महिला, दलित, अल्पसंख्यकलाई आवश्यक सहयोग गर्नेछौं । कृषि तथा पशु फार्म सञ्चालनका लागि पालिकाबाट आवश्यक ऋण सहयोग प्रदान गर्ने, गाउँको उत्पादन विभिन्न सहकारीमार्फत विक्री गराउने र कृषकलाई उत्पादनको आधारमा सहयोग र सहुलियत कर्जा प्रदान गर्ने कार्यक्रम ल्याउने छौं ।

स्वास्थ्यमा के कस्ता योजना तथा कार्यक्रम छन् ?
– हो, हामी स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका छौं । म आफु स्वास्थ्यकर्मी भएकै कारण पनि यहाँ स्वास्थ्य क्षेत्रलाई बढी नै प्राथमिकतामा राखिएको छ । सुविधा सम्पन्न अस्पताल होस्, सहज रुपमा स्वास्थ्य सेवा प्राप्त होस् भन्ने आम बुझाई छ । त्यो भन्दा पनि मानिसलाई निरोगी बनाउने, रोगी भईहाले तत्काल, गाउँ ठाउमै उपचार सेवा पाउने गरी काम गर्ने छु । रोग लागेर निको पार्नु भन्दा रोग लाग्न नदिने गरी प्रवद्र्धनात्मक कार्यलाई पहिलो प्राथमिकता दिनेछु । पोषण, सुरक्षित मातृत्व, खोप सेवालाई प्रभावकारी बनाउने, कुनै पनि बालबालिका कुपोषित हुनबाट रोक्ने, शिशु तथा मातृ मृत्युदरलाई रोक्ने, स्वस्थ जनशक्ति उत्पादन गर्ने, पोषणमैत्री वडा, पोषणमैत्री पालिका घोषणा गर्दै जानेछौं । गर्भवस्था, सुत्केरी अवस्थासम्मको समयमा ध्यान दिनुपर्ने कुरा, पोषिलो खानपिनका लागि जनचेतनाको साथै पालिकाबाट आवश्यक सहयोगका कार्यक्रमहरु ल्याउने छौं ।

पर्यटन क्षेत्रको योजना के छन् ?
– माथागढीमा थुप्रै पर्यटकीय क्षेहरु रहेका छन् । ति क्षेत्रहरुको पहिचान गरी पर्यटकीय क्षेत्रको विकासमार्फत पालिकाको आर्थिक विकास गरिने छ । यहाँका कौडे लेक, माथागढी र बहादुरपुरलाई मुख्य पर्यटकीय केन्द्र मानेर पर्यटन विकास गर्ने गरी काम गर्नेछौ ।

घोषणापत्रमा उल्लेख गरेका कुराहरु नीति, कार्यक्रममा समावेश हुन्छ त ?
– घोषणापत्रलाई व्यववहारिक रुपमा कार्यान्वयन गर्न सकिने गरी नेकपा एमाले माथागढीले निर्वाचनको समयमा घोषणा पत्र बनाएको थियो । सोही घोषणापत्र लिएर हामी जनताको घरदैलोमा पुगेका हौं । घोषणपत्रको आधारमा जनताले हामीलाई विश्वास गरेर, हामीलाई जिताउनुभयो । घोषणापत्र अनुसार नै आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्नेछौं । हामीले गर्न सकिने कुरा मात्र घोषणापत्रमा राखेका छौं ।

अन्त्यमा,
– मलाई माथागढीवासीले मत दिएर पालिकाको नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । एकलो प्रयासले मात्रै विकास सम्भव हुँदैन । त्यसैले सबैसँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । हामी जनप्रतिनिधी सासक होइन, सेवक हौ भन्ने भावनाले काम गर्ने छौ । हामीले माथागढीलाई नमूना बनाउन सकेमा देशका अन्य पालिकाहरुलाई पनि प्रेरणा हुनेछ । विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने नै छ । धन्यवाद !

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update