Shittalpati
अफवाह नफैलाऊ

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । विश्व स्वास्थ्य संगठनको चेतावनीपछि सम्पूर्ण देशहरु अहिले सो भाइरसबाट जोगिन र सजग हुन विभिन्न प्रयत्नहरु गरिरहेका छन् । यो प्रयासबाट विभिन्न देशमा खाद्य तथा आर्थिक संकटपनि सुरु भइसकेका छन् । कोरोनाको असरले आर्थिक क्षेत्रपनि तहस नहस हुन थालेका छन् । वस्तुको अभाव विकासोन्मूख देशहरुमा देखिन थालिसकेको छ । धन्न अहिलेसम्म नेपालमा संक्रमित पाइएको भने छैन । कोरोनाको असरले विश्व हल्लाइरहेको बेला सबै देशका स्वास्थ्य संस्थाहरुले सो भाइरसबाट बच्नको लागि विभिन्न प्रयास र सल्लाहहरुलाई जनतासम्म पुर्‍याइरहेका छन् । तर विषम परिस्थितिमा सूचना प्रसार कसरी गर्ने भन्ने ज्ञान नभएको, सरकारी तहबाट व्यवस्थित सूचना प्रसार नभइरहेको, अनि सामाजिक सञ्जालमार्फत प्रसारित अपुष्ट सूचनामा छिट्टै विश्वास गर्ने समाज रहेको कारण अफवाहको संक्रमण झनै तीव्र हुने खतरा छ ।

विश्व स्वास्थ्य संगठनले भनेझैं कोरोनाझैं गलत सूचनाको संक्रमण तीव्र बन्दै जाँदा अफवाह फैलिने र सत्यभन्दा त्रासदीपूर्ण खबरहरू शक्तिशाली भई आममानिसमा मनोवैज्ञानिक असर पार्ने खतरा उत्तिकै छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत भ्रम र अफवाह फैलाउने काम तिव्र गतिमा भइरहेको छ । विश्व संगठले नेपालमा अहिलेसम्म कुनै पनि संक्रमण नदेखिएको भनिरहँदा विभिन्न सामाजिक सञ्जालमा संक्रमणका विषयमा अफवाहरु फैलिरहेका छन् । दूरदराजसम्म फैलिएको सामाजिक सञ्जालमार्फत यस्ता भ्रम–प्रसारले आम मानिसमा एक किसिमको त्रास सिर्जना भएको छ ।

सरकारले एकद्वार नीतिबाट सूचना सम्प्रेषण गर्न नसक्दा सामाजिक सञ्जालमा सरकारप्रति अविश्वास त पोखिएको छ नै, सरकारी कमजोरीको फाइदा उठाउँदै सस्तो लोकप्रियता कमाउन व्यक्तिगत तवरबाट अफवाह फैलाउने काम पनि भइरहेको छ । महामारीजस्तो विषम परिस्थितिमा भ्रमपूर्ण सूचनाले गर्दा कालोबजारी मौलाउनुको साथै शान्ति अमन चयनमा समेत खलबल हुने भएकाले नकारात्मक अफवाहरु नफैलाऊ । संक्रमणको महामारीमा सरकारले गरेका प्रयासमा नागरिकस्तरबाट सहयोग गरौं ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update