Shittalpati
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता

बुटवल, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले नीति कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । उसले कृषिमा स्मार्ट कृषि गाउँ कार्यक्रम, पुष्पखेती प्रवद्र्धन, प्रांगारिक मल उत्पादन कारखाना स्थापना, कृषिमा प्रतिफल र उत्पादनमा आधारित अनुदान, युवा किसानका लागि ब्याज अनुदान, ‘एक स्थानीय तह, एक उत्पादन’ लगायतका नारा अघि सारेको छ । पर्यटन प्रवद्र्धनका लागि ‘हिल स्टेसन र होम स्टे’ प्रवद्र्धन कार्यक्रमले निरन्तरता पाएको छ ।
शिक्षा र पर्यटनमा पनि धेरै कार्यक्रम र नयाँ नीति अघि सारिएको छ । सरकारले सिंगो लुम्बिनी प्रदेशलाई प्रविधिमैत्री बनाउने गरी ‘डिजिटल प्रदेशको आधार, हात हातमा प्रदेश सरकार’ भन्ने नारा अघि सारेको छ । प्रदेश सरकारले बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति पनि ल्याएको छ । स्थायी राजधानी तोकिएको स्थान दाङको राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणासँगै लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताललाई गौरवको आयोजनामा राखेको छ । नीति तथा कार्यक्रममा ‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ्ग र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने शेरचनले उल्लेख गरेका छन् । .यसअघि प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो । आगामी असार १ गते सार्वजनिक हुने बजेटका लागि प्रदेश सरकारले प्रि– बजेट छलफल कार्यक्रम पनि चलाइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update