Shittalpati
प्रदेश पाँच र गण्डकी  प्रदेशको सिमानामा स्वास्थ्य जाँच

इमान सिं राना
पाल्पा (रामपुर), विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बचाउन बाहिरबाट आउनेहरुकालाई प्रदेश पाँच र गण्डकी प्रदेशको सिमानामा स्वास्थ्य जाँच गरिएको छ । रामपुर नगरपालिकाले नगर प्रवेश गरेका नागरिकहरुको स्वास्थ्य जाँच गरेको हो । सोमबारदेखि लामो दुरीको यातायात बन्द गरे पनि आइतबार राति काठमाडौंबाट घर फर्केका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । ३ वटा बसबाट रामपुर आएका १ सय ५२ जना यात्रुहरुलाई नगर प्रवेशको क्रममा रामपुर नगरपालिका ३ केलादीमा सोमबार स्वास्थ्य परीक्षण गरिएको हो ।

उनीहरु सहित १ सय ६८ जनाको सोमबार नगरपालिकाले प्रदेश पाँच र गण्डकी प्रदेशको सिमाना कालीगण्डकीको कोलादी पुलबाट स्वास्थ्य जाँच गरेको छ । बाहिरबाट नगर भित्रिने नागरिकहरुको स्वास्थ्य अवस्था परीक्षणसंगै संक्रमण नभित्रियोस् भन्नका लागि नगरपालिकाले स्वास्थ्य परीक्षण गरेको हो । काठमाडांैलाई अध्ययन तथा कर्मथलो बनाउँदै आएका नागरिकहरुको लागि नगरपालिकाले घर आउन चाहनेहरुका लागि निःशुल्क बस सेवा प्रदान गरेको थियो । गाउँमा कोरोना संक्रमणको सम्भावना कम हुने भएकाले घर फर्कने क्रम बढेपछि टिकट लिन लाईन बस्नुपर्ने तथा गाडी अभावमा भीडभाड गरेर आउनु परेको भन्दै नगरपालिकाले सहजताको लागि बस सेवाको व्यवस्था गरेको थियो । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले नगरबासीको स्वास्थ्य सुरक्षामा नगरको महत्वपूर्ण भूमिका रहेको भन्दै निःशुल्क बस सेवा प्रदान गरिएको बताए ।

उनले टिकट लिन लाईनमा बस्नुपर्ने, भिडभाडमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएकाले सजताको लागि नगरले बस सेवा प्रदान गरेको बताए । थापाले भने, ‘हामीले बस सेवा प्रदान गर्‍यौ, संगै विश्वभर महामारीको रुप लिएको भाइरस पनि भित्रन सक्ने सम्भावना रहेकाले सचेतनाका लागि स्वस्थ्य परीक्षण गरिएको हो ।’ नगरपालिकाले मुख्य नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गर्न लागे पनि सामग्रीको अभावमा नाकाहरुमा हेल्प डेक्स सञ्चालन गर्न नसकिएको बताउँदै भएका जनशक्ति प्रयोग गरेर नाकाहरुमा कडाई गरिने थापाले जानकारी दिए । नगरपालिकाले रामपुरमा मास्कको अभाव हुन नदिन दश हजार उत्पादन गर्दैछ । विभिन्न स्थानमा साबुनपानीले हातधुने व्यवस्था, स्यानीटाइजरको प्रयोग गर्न सिकाउने, घरदैलोमा जनप्रतिनिधि पुगेर पर्चा पम्पलेट, मास्क वितरण गर्ने, माइकि· गर्ने जस्ता कामहरु भइरहेको छ । काठमाडौंबाट फर्किएका नागरिकहरुलाई केलादी पुलमा स्वास्थ्य परीक्षण गरेर घर पठाइएको छ ।

गाडीबाट यात्रु ओर्लिएपछि साबुनपानीले हात धुने तथा स्यानीटाइजरको प्रयोगले गर्न लगाएर स्वास्थ्य परीक्षण पश्चात घर पठाइएको हो । रामपुर नगरपालिकाले रामपुर अस्पतालसँगको समन्वय, इलाका प्रहरी कार्यालय र सुरक्षा बेस क्याम्पको सहयोगमा उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षण पश्चात घर बाहिर ननिस्कन सुझाव सहित घर पठाइएको परीक्षणमा संलग्न रामपुर अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियारले जानकारी दिए । काठमाडौंबाट रामपुर आउन सवारी साधन नपाएर अलपत्र परेका नागरिकहरु नगरपालिकाको सेवा पाए पछि खुशी भएका छन् । नगरपालिकाले गाडी नपाएर अलपत्र रहेका बेला गाडी व्यवस्थापन गरेर निःशुल्क घरसम्म पुर्‍याएपछि नागरिकलाई ठूलो राहत पुगेको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update