Shittalpati
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

पाल्पा, देशका केही स्थानहरुमा यस वर्षको मनसुन भित्रिए पनि पूर्ण रुपमा सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । आइतबारदेखि यस वर्षको मनसुन प्रवेश गरेपनि देशभर फैलिन अझै केही दिन लाग्ने भएको हो । आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालका अन्य भू–भागमा भने मनसुन फैलिन केही दिन लाग्ने विभागको अनुमान छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगावै अर्थात जुन ५ मै प्रवेश गरेको छ । हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका साथै पूर्वी नेपालमा मनसुनी वायुको समेत सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली पछिल्ला दिनमा नेपालको प्रदेश नं १ मा आगमन भई प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनी अवधि मानिन्छ । यो मनसुनी अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update