Shittalpati
विश्व वातावरण दिवस : तिनाउको चुनुमाया पार्कमा गरियो वृक्षारोपण

कृष्ण पोखरेल
पाल्पा, विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाका विभिन्न सथानमा वृक्षारोपण गरी दिवस मनाइएको हो । आइतबार दिवसको अवसरमा तिनाउ गाउँपालिका–३ दोभानस्थित चुनुमाया पार्कमा वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश वन वातावरण तथा भू–संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ र भुतखोला सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा यहाँ वृक्षारोपण गरिएको हो । दोभान तिनाउ खोलाको किनारा रहेको चुनुमाया पार्क सुख्खा क्षेत्रलाई केही वर्ष भित्रै हरियाली शितल बनाउने र तिनाउ नदी बस्ती भित्र नपसोस् भन्ने अभियानका साथ वृक्षारोपण गरिएको थियो । ‘पुथ्वीको संरक्षण ःदिगो प्रकृतीमैत्री जीवनयापन’ भन्ने नाराका साथ कार्यक्रममा सहभागी अतिथिहरुलाई पिपलपाते व्याज र तेजपातको माला लगाई स्वागत गरिएको थियो । सधै फुलको माला लगाउने अतिथीहरुले तेजपातको माला लगाउँदा फरक अनुभुति गरेका थिए । चुनुमाया पार्कमा शित्तल प्रदान गर्ने प्रकृतिका स्वामी, वर पिपल, लगायतका ठूला प्रकृतिका रुख विरुवा रोपिएको थियो । लगाएका विरुवाहरु भूतखोला सामुदायिक वन र सवडिभिवन वन कार्यालय पाल्पाले रेखदेख तथा हुर्काउने जिम्मा लिएका छन् । कार्यक्रममा सहभागी मन्त्री, सचिव, महाशाखा प्रमुख लगायतका अतिथीहरुले नेमप्लेट राखेर वृक्षारोपण गरेका थिए ।

लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले तिनाउ वन समन्वय समितिलाई विभिन्न किसिमका विरुवा हस्तान्तरण गर्दै वातावरणको संरक्षण भए मात्र मानव जीवन सुरक्षित हुने भएकाले हामी सबै मिलेर काम गर्नुपर्ने बताए । हामी सबैले आ–आफ्नो क्षेत्रबाट बोट विरुवा लगाऔ, अनावश्यक रुख कटान नगरौ, रुख विरुवा प्रशस्त भएमा बाढी पहिरो भू–क्षय नियन्त्रण हुने भएकाले विश्व वातावरण दिवसले हामी सबै मानवलाई सचेत बनाएको मन्त्री हमालले बताए । मन्त्री हमाल सहितको वन मन्त्रालयको टोलीले भूतखोला झरना, जैविक विविधताको सत्यवती ताल, कोल्डाँडाको तेजपात खेतीको अवलोक गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद तुलाराम घर्तीमगरले पाल्पाको तिनाउको बन क्षेत्र, तिनाउ नदी रुपन्देहीको बुटवलदेखि भैरहवासम्मका जनताको प्राण भएको बताए । रुपन्देहीका जनताको पिउने पानीदेखि अरबौं रुपैयाँको राजश्व संकलन गर्ने आधार नै तिनाउ नदी भएकाले संरक्षणका लागि रुपन्देहीको सक्रियता हुनुपर्ने सांसद घर्तीले बताए । कार्यक्रममा मन्त्रालयका सचिव दुर्गाबहादुर कार्की, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख दिपक ज्ञवालीले विश्व वातावरण दिवसको महत्व, तिनाउको वन क्षेत्रले खेलेको भूमिका, समुदायस्तरबाट चाल्नुपर्ने कदमका बारेमा जानकारी गराएका थिए । यस वर्ष तिनाउ क्षेत्रमा डढेलोमुक्त बनाइएको अवसरमा तिनाउ सव डिभिजन वन कार्यालय, तिनाउ बन समन्वय समिति, पालिकाका २० वटा सामुदायिक बनलाई मन्त्रालयले सम्मान समेत गरेको छ । डिभिजन वन कार्याल पाल्पाले तिनाउलाई डढेलोमुक्त अभियान बनाउन केही महिनादेखि नै अभियान सञ्चालन गरेको थियो । विश्व वातावरण दिवसको अवसरमा पञ्चेवाजा सहित ¥यालीले दोभान बजार परिक्रमा गरी सचेतना जगाइएको थियो । मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेल गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update