Shittalpati
रेसुङ्गा बालउद्यानमा वृक्षारोपण

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाको–९ स्थित रेसुङ्गा बालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर यहाँ वृक्षारोपण गरिएको हो । ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नारा का साथ बालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाप, कलक, देवदार धुपी लगायतका झण्डै १ सय वटा विरुवा रोपिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मुना शर्माले बताइन् । डिभिजन वन कार्यालयले जिल्ला भर डेढ लाख बहुवर्षिय विरुवा उत्पादन गरेको छ । वृक्षारोपण सिजन सुरु भएकाले अब अन्य क्षेत्रमा पनि वृक्षारोपण गरिने शर्माले बताइन् ।

विश्वले विभिन्न किसिमका वातावरणीय समस्या झेल्दै आइरहेको छ । जलवायु परिर्वतन, पृथ्वी तात्दै जानु, वन विनाश तिब्र रुपमा हुँदै गएपछि त्सको समधान गर्न हरेक विश्व वातावरण दिवस मनाउने गरिन्छ । पछिल्लो समयमा विकास र विभिन्न कारणबाट वातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । मानवले प्रकृतिको दोहन गर्नाले विभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अन्त्यको लागि बोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आवश्यक रहेको गैरेले बताए । मानव विकाससँगै वन विनास हुँदै गएकाले त्यसको संरक्षणमा सबैले चासो देखाउनुपर्ने रेसुा नगरपालिका ९ का वडाअध्यक्ष कृष्ण पोण्डेले बताए । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले वातावरण स्वच्छ राख्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ वातावरण राख्न सकिने बताए । सबै वातावरण संरक्षणमा संलग्न छौं भन्ने उद्देश्यले सबैले एउटा–एउटा विरुवा रोपौं भनेर सांकेतिक रुपमा वृक्षारोपण गरिएको उनले बताए । मानवको वस्ती विकाससँगै विभिन्न कारणले वातावरणीय क्षेत्रमा असर पर्दै जान थालेकाले वन संरक्षणमा सबैको ध्यान पुग्न जरुरी रहेको उनले औल्याए । वातावरण स्वच्छ, सुन्दर रहे हामी रहने हुँदा आफनो भन्दा पनि हाम्रो लागि वातावरण जोगाउन आवश्यक रहेको सापकोटाको भनाई छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update