Shittalpati
आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै

पाल्पा, नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । पाल्पा सहित देशभरका नेवार समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउन लागेका हुन् । पहिला पहिला काठमाडौंमा मात्र सिमिति रहेको सिथि नख पर्व पछिल्लो समय काठमाडौंबाट बाहिर गएका नेवार समुदाहरुले आफ्नो ठाउँमा यो पर्व मनाउने गरेको पाइन्छ ।

विगतमा तानसेन टक्सार टोलका नेवार समुदायले पर्वको दिन नजिकैका कुवा, पधेरामा गई पानीका मुहान सफा गर्ने गर्थे तर हिजो आज भने यो क्रमश हराउदै गएको छ । यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन् । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ । नेवार समुदायमा ऋतुअनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षाद्को बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षाद्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो । सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुने भएकाले सिथि नखः पर्वलाई वर्षा अघिको अन्तिम चाडका रुपमा लिने गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update