Shittalpati
लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र

पाल्पा, सामाजिक संस्था लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र दिइएको छ । संस्थाले डिसेम्वर 30, 2021 मा सञ्चालनका लागि अनुमति पाए पनि शनिबार एक औपचारीक कार्यक्रमकाबिच संस्था स्थापनाको प्रमाणपत्र दिइएको हो ।

डिष्ट्रिक एजुकेटिभ चिफ सुशिल प्रधानले संस्था स्थापनाको प्रमाणपत्र, सदस्यलाई पिन र प्रमाणपत्र वितरण गर्दै औपचारिक रुपमा संस्था स्थापना भएको घोषणा गरेका थिए । प्रमुख अतिथि समेत रहेका प्रधानले क्लवको मर्म र भावना अनुसार काम गर्न संस्थालाई आग्रह गरेका छन् । उनले हामी भन्दा कम भाग्यमानीहरुको क्षेत्रमा लियोले काम गर्नुपर्नेमा जोड दिए । एजुकेटिभ चिफ प्रधानले सामाजिक सेवामा आफ्ना गतिविधिहरुलाई केन्द्रीत गर्न लियोका सदस्यहरुलाई आग्रह गरे । उनले आत्मसन्तुष्टि प्राप्त गर्न सेवामा आफुलाई समर्पित गर्नुपर्नेमा जोड दिए । प्रधानले लायन्स र लियोको उद्देश्य उस्तै भएकाले सामाजिक क्षेत्रको काममा लायन्ससँग सहकार्य गरेर अगाडि बढ्न पनि लियोलाई आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि लायन्स क्लव पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले लियोले औपचारिक स्थापना हुनुपूर्व नै नेतृत्व, क्षमता र व्यक्तित्व विकासका क्षेत्रमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए । उनले आगामी दिनमा स्थानीय सरकार र लायन्स क्लवसँग सहकार्य गरी आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन लियोलाई आग्रह गरे । लियो डिष्ट्रिक काउन्सील ३२५ वि टु स्टाटेजी चिफ लियो सन्तोष खरेलले लियोमा आवद्ध सदस्यहरु सामाजिक सेवामा सशक्त भएर लाग्नुपर्नेमा जोड दिए । उनले एलएमसीबाट बाहिर गएपनि लियो जस्ता सामाजिक संस्थामा कुनै न कुनै रुपमा सक्रिय बन्न उनीहरुलाई आग्रह गरे । कार्यक्रममा अनररी डिष्ट्रिक एडभाइजर लायन्स त्रिलोचन पौड्याल, रोट्रयाक क्लव अफ पाल्पा एलएमसीका उपाध्यक्ष विनु नेपाल, लायन्स क्लव पाल्पाका निवर्तमान अध्यक्ष सारधा नेपाल, अनररी डिष्ट्रिक एडभाइजर लायन्स बुद्धिप्रसाद शर्मा, लियो क्लव अफ पाल्पा सेकेण्डको अध्यक्ष श्रीधर कुंवर, नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी लगायतले सफलाको शुभकामना व्यक्त गर्दै रचनात्मक गतिविधि गरी सामाजिक क्षेत्रको विकासमा नमूना काम गरेर देखाउन लियोलाई आग्रह गरे ।

लियोका अध्यक्ष अम्बिका दवाडीले संस्था पहिले नै दर्ता भएर काम गर्दै आए पनि विविध कारणले अहिले आएर औपचारिक रुपमा संस्था स्थापनाको प्रमाणपत्र ग्रहण गरिएको बताए । पाल्पा लायन्स क्लव अन्तर्गत लियोको स्थापना भएको हो । लुम्बिनी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुद्वारा लियोको स्थापना भएको छ । पाल्पा लायन्स क्लवको सौजन्यमा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रमको बिचबिचमा लियोका सदस्यहरुले नृत्य प्रस्तुत गरेका थिए । लियोका अध्यक्ष अम्बिका दवाडीको अध्यक्षता, संस्थाका प्रथम उपाध्यक्ष युनाल भण्डारीको स्वागत, पुरुषोत्तम यादव र रमिता जैसवालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update