Shittalpati
पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले नापतौल यन्त्रहरु नापजाँच गरेको हो । टोलीले सोमबारदेखि वाणिज्य संघको सभाहलमा व्यवसायीहरुको नापतौल यन्त्र नापजाँच गरेको छ । आज भने टोलीले आर्यभञ्ज्याङ्गमा नापजाँच गर्ने छ ।


ऐन र नियमानुसार व्यवसायीहरूको नाप्ने र तौलने यन्त्रहरू जाँच, नवीकरण तथा अनुमतिपत्र वितरण गरिएको छ । टोलीले बुधबारसम्म १ सय ४३ जना व्यवसायीले प्रयोग गर्ने नापतौलका यन्त्रहरुको जाँच गरेको गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले बताए । उनका अनुसार १२ जना नयाँ व्यवसायीले नापतौलका लागि अनुमति लिएका छन् भने १ सय ३१ जना व्यवसायीले नविकरण गराएका छन् । नापतौल तथा गुणस्तर ऐन, २०२५ र नियमावली २०२७ अनुसार कार्यसम्पादन गरिएको निरीक्षक रोकाहाले बताए । नापजाँचका क्रममा अहिलेसम्म सबै मापदण्ड अनुसार नै यन्त्रहरु प्रयोगमा रहेको उनले एनजेडीलाई जानकारी दिए ।

केही ठाउँहरुमा मापदण्ड विपरीतका ढक/तराजु आदि प्रयोग गरेर उपभोक्तालाई ठगी गरेका खबरहरु आइरहेपछि संघले जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको नापजाँच गर्न पहल गरेको हो । विभाग आफैले बेला बेलामा व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको नापजाँच गर्नुपर्नेमा संघले पहल गर्नु परेको संघका अध्यक्ष राजु महर्जनले बताए । उनले सेवाग्राहीहरु कुनै पनि वहानामा व्यवसायीहरुबाट नठगिउन भन्ने उद्देश्यले नापतौल यन्त्रहरुको नापजाँच गरिएको बताए । नापजाँचमा निरीक्षक रोकाहा सहित गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षकहरु तेजबहादुर थापा, रमेश पाण्डे र सबइञ्जिनियर अखलेश सिंहको टोली चार दिनदेखि जिल्लामा खटिएको छ । नापतौल तथा मापन यन्त्र प्रयोग गर्दा दर्ता तथा नवीकरण अनिवार्य गर्नुपर्ने नापतौल ऐन तथा नियमावलीमा स्पष्ट लेखिएको छ । नियमावली अनुसार ६ कुना भएको ढक, स्प्रिङ तराजु, मानापाथी र ढुङ्गाइट्टा लगायत कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन । तर ऐन नियमावली समय सान्दर्भिक नहुँदा नापतौलमा उपभोक्ता ठगिदै आएका छन् ।

सरकारले मापदण्ड विपरीतका ढक/तराजु आदि प्रयोग गरेर उपभोक्तालाई ठगी गर्नेलाई कारवाही पनि गर्ने गर्दछ । तर अहिलेसम्म पनि पाँच दशक अघिकै पुरानो गुणस्तर तथा नापतौल ऐन तथा नियमावलीमा टेकेर गुणस्तर तथा नापतौल कार्यालयले कार्यसम्पादन गर्दा भने प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेका छन् । बजारमा नापतौलका नयाँ यन्त्र उपकरणहरू भित्रिरहेको र प्रयोगसमेत बढ्दै गएका बेला पुरानो ऐन र नियमका कारण उपभोक्ता ठगिने गरेका छन् । नियमावलीमा साना व्यापारीले २ वर्षमा र ठूला व्यापारीले १/१ वर्षमा नवीकरण गर्नुपर्ने प्रावाधान छ । तर, व्यापारीले दर्ता गर्न खासै चासो देखाउने गरेको पाइदैन ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update