Shittalpati
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने

रामपुर (पाल्पा), सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको रुपमा विकास गर्ने कार्यक्रमले यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ । कालीगण्डकी नदी र यसको करिडोरसँग जोडिएको रामपुर भौगोलिक हिसाबले केही भाग डाँडाभेग र समथरभूमि रहेको रमणीय ठाउँ हो ।

पछिल्लो समय रामपुरमा पूर्वाधार विकासका काम अगाडि बढ्दै गर्दा पर्यटकीयस्थल बन्दै गएको छ । नेपाल सरकारले २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिका मध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगरपालिका पनि हो । साविकका गाँैडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविस समेटिएको यस नगरमा दश वटा वडा रहेका छन् । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने यस नगरपालिका १ सय २३ दशलमव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । २०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षण अनुसार करिब ४२ हजार जनसंख्या भएपनि विभिन्न पेशा तथा व्यवसाय गरी बसोबास गर्नेको करिब ६० हजार रहेको अनुमान छ । यहाँ विभिन्न समुदायको बसोबास रहेको छ । विविध भाषाभाषी, रहनसहन, ऐतिहासिक तथा धार्मिक, पर्यटनका हिसाबले रामपुर नगरलाई नमूना सहरका रुपमा विकास गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताए । बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको कार्यक्रममा पाल्पा बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण कार्य सुरु गरिने समावेश गरिएको छ । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन(रामपुर–पोखरा दु्रतमार्ग बनाउन लगानी बोर्डमार्फत प्रक्रिया थाल्ने बजेटमा उल्लेख छ । कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको अध्ययन अगाडि बढाइने जनाइएको छ । सरकारले कालीगण्डकी करिडोर, कोसी करिडोर, कर्णाली करिडोरलाई चार अर्ब रुपैयाँ बजेट छुट्टाइएको छ । पाल्पामा मौसमी राडार जडान गर्ने लगायतका कार्यक्रम आगामी आर्थिक वर्षका लागि समावेश गरिएको छ । –रासस

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update