Shittalpati
नमस्कार गरौं

नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाई अगाडि उभिएर दुवै हातका औँला जोडेर गरिने अभिवादन हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उनीसँग विदाई हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ । तर पछिल्लो समय नमस्कारको सट्टा हात मिलाउने अंकमाल गर्ने र चुम्बन गर्ने प्रचलन व्याप्त छ । यदि तपाई हामी आफन्तसँगको भेटघाटमा चुम्बन, अंकमाल वा हात मिलाउने बानी छ भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नुहुँदैन ।

तपाई वा तपाईका आफन्तजनलाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्छ । छिमेरी राष्ट्र चीनबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वव्यापी रुपमा संक्रमणको रुप लिइरहेकाले यसतर्फ समयमै सचेत हुन जरुरी छ । रुघाखोकी लाग्नु, श्वासप्रश्वासमा समस्या देखिनु तथा ज्वरो आउनु कोरोना भाइरसको प्रमुख लक्षण हुन् । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई यसले छिटो असर गर्नसक्छ । यसबाट बच्न हाँछ्यु गर्दा मुख छोप्ने, राम्रोसँग हात धुने, जनावरको सामिप्यतामा नरहने, खानेकुराहरु राम्रोसँग पकाएर खाने, आँखा सुरक्षित गर्न चस्मा लगाउने, भाइरस फिल्टर गर्ने मेडिकल मास्क प्रयोग गर्नु पर्दछ । भाइरसले नेपालमा प्रवेश पाएपछि महामारीको रुप लिनसक्ने सन्त्रास रहेको छ । भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै फैलनसक्छ ।

नेपालमा यो महामारी फैलन नदिन सरकारले केही सावधानी अपनाएको त छ, तर सरकारले मात्रै सावधानी अपनाएर हुँदैन । आम मानिसले पनि यसतर्फ सचेतना अपनाउनुपर्दछ । बढी भीडभाड भएको ठाउँमा नजाने, अनिवार्य रुपमा सही तरिकाले मास्क प्रयोग गर्ने बानीको विकासले समेत रोगको संक्रमणबाट जोगिन सकिन्छ । हामीले हाम्रो गतिविधि समेतलाई परिवर्तन गर्दै नमस्कार गर्ने बानीको विकास गर्नुपर्छ । नमस्कार गर्दा धेरै रोगबाट सजिलै जोगिन सकिन्छ । हात मिलाएर आत्मीयता बाँड्न खोज्दा रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले हामीले नमस्कारमा नै जोड दिउँ । यो हाम्रो संस्कृति समेत हो ।

कोरोना भाइरसले आफन्त, गरिब, धनी, सानो, ठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, धामीझाँक्री, चिकत्सक, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी केही भन्दैन । यो रोगको संक्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट वा विदाईमा गरिने चुम्बन, अंकमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update