Shittalpati
आज गणतन्त्र दिवस मनाइँदै

पाल्पा, आज १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । लुम्बिनी प्रदेशसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । २०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा गते जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विविध कार्यक्रम गर्दैछ । प्रदेश सरकारले दिवसको अवसर पारेर शनिबारदेखि तीन दिन कार्यक्रम गर्दै आएको छ । प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा शनिबार खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । बुटवलको चौराहदेखि शंकरनगरसम्म पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको हो । यस्तै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको संयोजनमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम गरियो । दिवसको अवसरमा प्रदेश सरकारले सबै संघसंस्थाका कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न आग्रह समेत गरेको छ । आज बुटवलको सिद्धेश्वरी लालकुमारी माविमा गणतन्त्र दिवस मूल समारोह आयोजना गरिदै छ । समारोह सुरु हुनुपूर्व बुटवलको चौराहदेखि कार्यक्रमस्थलसम्म प्रभातफेरी हुनेछ । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका प्रमुख तथा उपप्रमुख, सदस्य, मन्त्रालयका कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुखलगायतको उपस्थिति रहनेछ । दिवसको अर्को दिन अर्थात् सोमबार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको संयोजनमा प्रदेशमा वृक्षरोपण गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update