Shittalpati
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए

अर्घाखाँची, अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि जन्मिएका छोरीको संख्या कम छ । गएको वर्ष अर्थात् २०७७/७८ मा ७ सय ५२ छोरा र ६ सय २१ छोरी जन्मिएका छन् ।

विसं २०७६/७७ मा कूल एक हजार ३ सय ४० बच्चा जन्मिएकोमा ६ सय २२ छोरी र ७ सय १८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए । जिल्ला स्वास्थ्य कार्यालय लगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रुपमा जिल्ला बाहिर जानेर र भू्रण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ । जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४ सय ७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष २०७७/७८ मा ६ सय ५७ र आर्थिक वर्ष २०७६/७७ मा ६ सय ५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ । सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा तीन हजार जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् । अवैधानिक रुपमा भु्रण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरुको खातामा नगरपालिकाले तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरुको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । सो नगरपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा ५ सय ९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २ सय ९१ बालक र २ सय ६७ बालिका रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए । –रासस

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update