Shittalpati
शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई अनुशिक्षण

पाल्पा, नयाँ शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नयाँ शैक्षिक सत्रको लागि आवश्यक योजना, व्यवस्थापनको लागि शिक्षकलाई थप जानकारी गराउने उद्देश्यले वेद माध्यमिक विद्यालय, भूतपूर्व विद्यार्थी समाज (बेस) बराङदीले शिक्षकहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष गोपालप्रसाद बस्यालले नयाँ शैक्षिक सत्रको तयारी विषयक कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक सत्र हुनुपूर्व विद्यालयले गर्नुपर्ने घरदैलौ अभियान, विद्यालयका विशेषता समेटिएको पर्चा वा ब्रोसर निर्माण र वितरण, विद्यालयको मर्मत सम्भार र सजावट लगायत ब्यवस्थापन गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । उनले विद्यार्थी भर्ना काक्रममा विद्यार्थीको प्रोफाइल निर्माण, अभिभावक परामर्श, विद्यार्थीलाई उपहार प्रदान जस्ता कार्य गर्न शिक्षकलाई आग्रह गरे । त्यस्तै शिक्षकहरूले आवश्यक नोट लेखन, आवश्यक सामग्री निर्माण, सन्दर्भ सामग्री संकलन, पाठ्यक्रम, पाठ्यपुस्तकको ब्यवस्था जस्ता कार्य गर्न आवश्यक रहेको बताए । शिक्षकले अनुशिक्षण कार्यक्रमबाट पाठयोजना निर्माण र बुँदाटिपोट गरी विद्यार्थीलाई आवश्यक ज्ञान सिकाउन सहयोग पुुग्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालय र कक्षाकोठाको सजावट, आचारसंहिता र कक्षाकोठा नियमको पालना, सजावट र भित्तेलेखन गरी विद्यालय वातावरण आकर्षण बढाउनुका साथै सिकाइ वातावरण सहयोगी बनाउन आवश्यक रहेको औंल्याइएको छ । कार्यक्रममा अभिभावक, शिक्षा र विद्यार्थी परामर्शका क्षेत्रमा कार्यक्रम गरिनु आवश्यक रहेको बताइएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्याल, वेद भूतपूर्व विद्यार्थी समाजका सचिव हरिप्रसाद घिमिरेसहित २० जना शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानेश्वर भट्टराईले विद्यालयको अवस्था विश्लेषण गर्दै कार्यक्रममा औंल्याइएका पक्षहरुको पालना गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्नाका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update