Shittalpati
त्रिविले आइतबार बिदा नदिने

पाल्पा, नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि त्रिभुवन विश्व विद्यालयले भने आइतबार विदा नदिने बताएको छ । विश्वविद्यालयले जेठ १ गते एक सूचना जारी गर्दै हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने जनाएको हो ।
अर्को सूचना नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा रहने त्रिविले जनाएको छ । कोभिड–१९ महामारीको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षा तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्व विद्यालयको पाठ्यक्रमको संरचना समेत ६ दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा हप्तामा ६ दिन नै पठनपाठन हुने त्रिवि जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘विश्वविद्यालयको पाठ्यक्रमको संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहनेछन् ।’ शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update