Shittalpati
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

गुल्मी, छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका दुई शिक्षक पक्राउ परेका हुन् । प्रहरीले शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई बालयौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरी अनुसन्धान थालेको छ । छात्राका परिवारले इलाका प्रहरी चौकी जोहाङ्गमा यौन दुर्व्यवहार भएको मौखिक उजुरी गरेका थिए । उजुरी लगत्तै प्रहरीले ति दुई शिक्षकलाई पक्राउ गरेको थियो । पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

शिक्षकले पटक–पटक छात्रा माथि यौन दुर्व्यवहार गरेको थाहा पाएपछि परिवार र आफन्तले केही दिन अघि विद्यालयमै पुगेर शिक्षक माथि हातपात गर्ने प्रयास गरिएको बुझिएको छ । अन्तमा केही सीप नलागेपछि परिवारले इलाका प्रहरी चौकी जोहाङ्गमा मौखिम उजुरी दिएका थिए । मौखिम उजुरीको आधारमा शिक्षकहरुलाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।

ति शिक्षकहरुले एक वर्ष अघिदेखि नै छात्रामाथि यौन दुर्व्यवहार गर्ने र यौनजन्य क्रियाकलापका लागि फकाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिए । लामो समयदेखि यौजन्य गतिविधिमा संलग्न भए पनि विहीबार मात्र जिल्ला प्रहरी कार्यालयलाई उक्त जानकारी भएको हो । दुवै जना शिक्षकलाई पक्राउ गरी कानूनबमोजिम अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खरेलले एनजेडीलाई जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update