Shittalpati
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?

पाल्पा, सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम भएको छ । यस अघि ८ सय ४८ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–हार्थोक(पाल्पा)का लागि ९ सय १९ भाडा दर कायम भएको छ । यहाँ यस अघि ८ सय ८८ रुपैयाँ रहेको थियो । काठमाडौं– तम्घासको भाडादर एक हजार दुई सय कायम गरिएको छ । यस अघि यो रुटमा एक हजार एक सय ५९ रुपैयाँ रहेको थियो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालितरुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भाडा बढाएको हो । प्रदेश सरकारले भने यसैका आधारमा भाडा समायोजन गर्नेछन् । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने व्यवस्था गरिएको छ । सरकारले यसअघि चैत २० गतेदेखि लागू हुने भाडा बढाएको थियो । तर, पछिल्लो पटक वैशाख ३१ गते पेट्रोल प्रतिलिटर १० रुपैयाँ बढेसँगै भाडा बढाइएको हो । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर एक सय ७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update