Shittalpati
मानवता नभुलौं

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना संक्रमणले नेपालमा पनि त्रास उत्पन्न गराएको छ । कोरोनाको प्रभावका कारण नेपालको अर्थतन्त्रमा समेत ठूलो धक्का लागेको छ । नेपालमा कोरोना संक्रमण देखा नपरे पनि अहिले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएको छ । अनुगमन संयन्त्र फितलो र प्रतिकूल अवस्थाको नाजायज फाइदा उठाउँदै कालाबजारीले विभिन्न भ्रम फैलाएर उपभोग्य वस्तुको कृत्रिम अवस्था सिर्जना गरेका खबर पनि सार्वजनिक भइरहेका छन् । नेपालमा कोरोनाको ठूलो असर नदेखिए पनि कोरोना फैलिन्छ भन्ने अफवाह फैलाएर कृत्रिम अभाव सिर्जना गर्न व्यवसायीहरू नै उद्यत देखिएका छन् भने उपभोक्ताले पनि अनावश्यक जोहो गरेर कालोबजारीलाई प्रश्रय दिइरहेका छन् । प्रशासनले स्थिति सहज बनाउने प्रयास गरे पनि कालोबजारिया र बिचौलियाका कारण सहजरुपमा उपलब्ध हुने वस्तुको पनि अभाव उत्पन्न गर्ने प्रयास गरिरहेका छन् ।
बजारमा, माक्स, इन्धन, ग्याँस लगायतका दैनिक उपभोग्य र अत्यावश्यक वस्तुहरुको आपूर्तिमा समस्या देखिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुनुको कारणबारे सरकारी संयन्त्रले खोजी गर्नुपर्ने भएको छ । कुनै पनि व्यापार व्यवसाय नाफामुखी नै हुन्छ । तर, नाफामुखी पेसा भए पनि व्यापारीले मानवतालाई बिर्सन हुँदैन । अझ आममानिस त्रसित भइरहेको सन्दर्भमा मौकाको फाइदा उठाएर कुनै पनि उपभोग्य वस्तुको नाजायज फाइदा लिनु अन्यायमात्रै होइन अपराध पनि हो । बजारलाई व्यवस्थित कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि अन्तरसरकारी समन्वय हुनुपर्छ ।

यसका लागि कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कारबाही गरिनु आवश्यक छ । आम नेपालीले उपभोग गर्ने नुन, तेल, ग्याँस लगायत सबैको कि मूल्यवृद्धि भएको छ कि अभाव छ । कोरोना भाइरसको प्रकोपबाट जोगिन माक्स र स्यानिटाइजरको प्रयोग गर्न सरकारले नागरिकलाई अनुरोध गरिरहेको समयमा दैनिक उपभोग्य तथा औषधिजन्य सामग्रीको समेत कृत्रिम अभाव खडा गरी कालोबजारी हुनु अपराध हो । यस्तो अवस्थामा सम्बन्धित व्यापारीहरुले फाईदा भन्दा पनि मानवियता देखाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update