Shittalpati
बैंकमा पनि सातामा दुई दिन विदा हुने

पाल्पा,जेठदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो ।
अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ । आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ । जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय हुनेछ । तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ ।

यसैगरी केन्द्रीय बैंकले २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार २ दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजीएस (रियल टाईम ग्रस सेटलमेन्ट) सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, अत्यावश्यकिय बैंकिङ सेवाहरुलाई नियमित गरिने बताएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update