Shittalpati
भोट हाल्न गाउँ फर्कन थाले मतदाता

रामचन्द्र रायमाझी
पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरु गाउँ फर्कन थालेका छन् । रोजगार,पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा सहरबजार तथा विभिन्न देश पुगेका मतदाताहरु भोट हाल्न गाउँ फर्किएका हुन् । काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँबाट आउने गाडीहरुमा यात्रुहरुको घचाघच चाप देख्न सकिन्छ । अघिपछि यात्रुको संख्या कम देखिने गाडीहरुमा हिजोआज भने भरिभराउ देखिएका छन् । गाडी रिजर्भ गरेर सिधैँ गाउँमा पुग्नेको संख्या पनि उत्तिकै छ । सार्वजनिक गाडीमा यात्रुलाई सिट पाउनै मुस्किल छ । केही आफ्नै निजी गाडीमा जाँदैछन् भने केही गाडी रिजर्भ लिएर जाँदैछन् ।

यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । थोरै मतान्तरले पनि जितहार हुनसक्ने भएकाले उम्मेदवारहरुले जिल्ला, पालिका र वडा बाहिर रहेका मतदाताहरुलाई गाडी नै पठाएर गाउँ बोलाएका छन् । गुल्मीको इस्मा घर भएका मिनबहादुर कुंवर मंगलबार बुटवलबाट भोट हाल्न गुल्मी हिडेका छन् । उनले नागरिकता र नामावली गाउँमै भएकाले चुनावका लागि गाउँ हिडेको बताए । अध्ययनको शिलशिलामा काठमाडौं रहेका गुल्मी मुसिकोटका विष्णु अधिकारी पनि आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किएका छन् । स्थानीय स्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि आफु भोट हाल्न घर हिडेको उनी बताउँछन् । स्थानीय तह चुनावमा छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले चासो दिने गर्छन् । चुनावको मिति नजिकिएको र बाहिरबाट मानिस आउन थालेपछि तानसेनमा चहलपहल बढेको छ । गाउँ घरको विकासका लागि गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले मतदान गर्न घर फर्किएको तानसेन ३ का रोसन खत्रीले बताए । अध्ययनको शिलशिलामा पोखरा रहेका खत्री भोट हाल्न मंगलबार घर फर्किएका हुन् ।

नगरको समृद्धि र विकास गर्न सक्ने व्यक्तिलाई मत हाल्ने उनको योजना रहेको सुनाए । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले पनि टाढा–टाढा भएका मतदाताहरु घर फर्किएका हुन् । तानसेनमा पनि बाहिरबाट आएर बसेका केही मतदाताहरु घर फर्किसकेका छन् भने केही फर्किने तयारीमा छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा निर्वाचनका लागि तयारी तिव्र पारिएको छ  । यहाँ निर्वाचनका लागि कर्मचारीहरु आवश्यक सामग्री लिएर मतदान केन्द्र पुगिसकेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन ४ वटै सुरक्षा निकायको व्यवस्थापन तथा खटन पटनलाई चुस्तदुस्त पारिएको छ । जिल्लामा स्थानीय निर्वाचनका लागि २ सय ४७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित १ हजार ९ सय ७१ जना कर्मचारी, एक हजार ८० जना म्यादी प्रहरी, ७ सय ४ जना नेपाल प्रहरी, २ सय १८ जना शसस्त्र प्रहरी, ४ सय १६ जना नेपाली सेना खटिएका छन् । यहाँ एक लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update