Shittalpati
पाल्पाको रामपुरमा पैदल यात्रुलाई साबुन पानीको व्यवस्था

इमान सिं राना
पाल्पा(रामपुर), विश्वभर तिव्र गतिमा फैलिदै गएको कोरोना भाइरसको विषयमा पूर्व सतर्कता अपनाउन देशैभर विभिन्न प्रयासहरु हुँदै आएको छ । सचेतनाका कार्यक्रम संगै पूर्व तयारीका कार्यक्रमहरु पनि भैरहेका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुर बेझाँडमा एक सहकारीले पैदल यात्रु तथा बजारबासीको सुविधाको लागि साबुन पानी सहित हातधुने व्यवस्था मिलाएको छ । कोरोनाबाट बच्नका लागि समय समयमा हात धुनु आवश्यक रहेको भन्दै रामपुर बचत तथा ऋण सहकारीले बजारको मुख्य चोकमा पानीको व्यवस्था गरेको हो । कोराना बाट बच्न र बचाउन विश्वभर प्रयासहरु भैरहेको सन्दर्भमा यात्रु तथा बजारबासीहरुको सहजता र सचेतनाको लागि हात धुने व्यवस्था गरिएको सहकारीका अध्यक्ष राजु प्रसाद श्रेष्ठले बताए । व्यवस्थापक रामचन्द्र अधिकारीले तत्काललाई पानी सहित र साबुन, ह्याण्ड वासको व्यवस्था गरिएको र स्यानिटाईजरको पनि छिट्टै व्यवस्था गरिने बताए । एक हजार लिटरको टंकीमा पानी संकलन गरी धारा जडान गरेर हातधुने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update